Nic Ad Nic Ad
Nic Ad Nic Ad

टीकापुर साहित्य महोत्सव शनिबारदेखि 

शुक्रबार, चैत २४, २०७९

टीकापुर– कैलालीको टीकापुरमा पहिलो पटक शनिबारदेखि ‘टीकापुर साहित्य महोत्सव’ हुुँदैछ । टीकापुर साहित्य समाज उक्त महोत्सव आयोजना गरेको हो । 

टीकापुरस्थित सिद्धार्थ होटलमा तीन दिनसम्म चल्ने महोत्सवमा कला, साहित्य, शिक्षा, विकास, समाज, राजनीतिलगायत २० सत्रमा छलफल हुने छ । छलफलमा सहभागी हुने सहजकर्ता र वहसकर्ताको टुङ्गो लागिसकेको टीकापुर साहित्य समाजका अध्यक्ष महेशविक्रम शाहले जानकारी दिए । 

महोत्सवको उद्घाटन सत्रमा लेखक तथा विश्लेषक डा सिके लालको ‘सामाजिक सद्भाव’ विषयमा प्रस्तुति रहनेछ । टीकापुर साहित्य महोत्सव हरेक वर्ष  गरिने अध्यक्ष शाह बताउँछन् । महोत्सवमा देशभरका चर्चित साहित्यकार, लेखकलगायत सहभागी हुनेछन् । 

महोत्सवको उद्घाटन सत्रमा तीन विधामा पुरस्कार प्रदान गरिने आयोजक संस्थाले जनाएको छ । रु एक लाख राशिको ‘खड्ग स्मृति राष्ट्रिय गौरव पुरस्कार, २०७८’ थोमस वर्गिज र मेरी वर्गिजलाई प्रदान गरिने छ । उक्त पुरस्कार टीकापुर योजनाबद्ध सहरका परिकल्पनाकार पूर्व मन्त्री स्व खड्गबहादुर सिंहको सम्झानामा स्थापना गरिएको हो । वर्गिज दम्पतीले टीकापुरमा आवासीय विद्यालय (हाल वीरेन्द्र विद्या मन्दिर मावि) स्थापना गरी यहाँको शैक्षिक क्षेत्रमा योगदान दिएका थिए । 

यस्तै रु ५० हजार राशिको ‘टीकापुर साहित्य समाज प्रतिभा पुरस्कार’ गायिका अनु चौधरीलाई प्रदान गरिने छ । सुदूरपश्चिमका प्रतिभालाई प्रदान गरिने यो पुरस्कार नेपाली, खस र थारु भाषामा गीत गाएर भाषा र कलाको उन्नयन तथा प्रवद्र्धन गरेकाले उहाँलाई प्रदान गर्न लागिएको हो । यस्तै रु २५ हजार राशिको ‘टीकापुर साहित्य समाज जेहेन्दार विद्यार्थी पुरस्कार’ टीकापुर उच्च माविबाट उत्कृष्ट नतिजा ल्याएका गणेश बाबा बोर्डिङ स्कुलका छात्र प्रवेश रावललाई दिइने भएको छ । 

स्थानीय साहित्यकार कान्तिप्रसाद ज्ञवालीले टीकापुरलाई चिनाउने कार्यक्रम आयोजना गरिएकामा खुसी व्यक्त गरे । साहित्यमार्फत सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले साहित्य कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रम बिहान १० बजेदेखि साँझ ५ बजेसम्म चल्ने बताइएको छ । चिसापानीदेखि टीकापुर उद्यानसम्म कर्णाली नदीमा  र्‍याफ्टिङको व्यवस्थासमेत गरिएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९  ०८:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार