Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपाल आँखा अस्पताल स्वर्ण महोत्सव मनाउने, सेवा विस्तार पनि गर्दैै

शुक्रबार, चैत २४, २०७९

काठमाडौं–नेपाल आँखा अस्पतालले देशभर सेवा विस्तार गर्न स्थानीय तहको सरकारसँग सहकार्य गर्ने भएको छ । देशमा आँखाको उपचार सेवा व्यापक गर्न, दुर्गम र सुविधाविहीन क्षेत्रमा आँखा उपचार शिविर सञ्चालनका लागि स्थानीय तहसँगको सहकार्य जरुरी भएको अस्पतालको भनाइ छ ।

अस्पताल स्थापनाको स्वर्ण महोत्सव शुभारम्भको अवसरमा आयोजित पत्रकार सम्मेलनमा अस्पतालका अध्यक्ष गोपालप्रसाद पोखरेलले अस्पतालको उद्देश्य आँखा उपचारमा सबैको सहज पहुँचमा पु¥याउनु रहेको बताए ।

‘आँखा उपचारमा सबैको पहुँचमा आवश्यक छ, विशेष गरी दुर्गम र सुविधाविहीन क्षेत्रमा उच्च गुणस्तरको उपचार सेवा उपलब्ध गराउन स्थानीय तह र सरकारसँग समन्वय गरी काम गर्ने तयारी भइरहेको छ’ उनले भने ।

२०३० चैत २६ मा त्रिपुरेश्वरमा स्थापना भएको नेपाल आँखा अस्पतालले आइतबार स्थापनाको स्वर्ण महोत्सव मनाउँदैछ । अस्पतालले हालसम्म ३१ लाख ८२ हजार पाँच सय ७९ जनालाई सेवा उपलब्ध गराएको छ भने एक लाख २५ हजार तीन सय ७९ जनाको आँखाको शल्यक्रिया गरेको छ । 

हाल १४ नेत्र विशेषज्ञ रहेको अस्पतालमा कर्निया, मोतिविन्दु, जलविन्दु, रेटिना, अकुलोप्लाष्टी एवं बाल आँखा उपचारलगायतका सेवा उपलब्ध छन् । हाल अस्पतालबाट दैनिक सात सय बिरामीले बहिरङ्ग सेवा लिने गरेका छन् । अस्पतालले विभिन्न समयमा विद्यार्थीका लागि निःशुल्क आँखा परीक्षणका साथै चस्मा वितरण गर्दै आएको अध्यक्ष पोखरेलको भनाइ छ । 

उनका अनुसार काठमाडौँको त्रिपुरेश्वरस्थित अस्पतालसहित अन्य छ शाखाबाट विभिन्न ठाउँमा सेवा उपलब्ध गराइरहेको छ । आगामी दिनमा सेवा विस्तार गर्ने बारे योजना बनाइरहेको उनले जानकारी दिए ।

अस्पतालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गत एमडी, अप्टोमेट्री र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत नेत्र सहायक तालिम दिँदै आएको छ । 

‘सेवा उपलब्ध गराउन एवम् जनशक्ति उत्पादनका लागि भौतिक पूर्वाधार अभाव छ । सेवा विस्तारका लागि छिट्टै नै थप भवन तथा पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता देखिएको छ’, अध्यक्ष पोखरेलले भने । उनका अनुसार अस्पतालले सरकारबाट सञ्चालनका लागि पुँजीगत अनुदान प्राप्त गर्दै आएको छ । 

प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९  १७:१८
प्रतिक्रिया दिनुहोस्