Nic Ad Nic Ad
Nic Ad Nic Ad

बङ्गलादेशमा २ आदिवासी समूहबीच झडप : ८ जनाको मृत्यु 

शनिबार, चैत २५, २०७९

ढाका– बङ्गलादेशको अशान्त चटगाउँ पहाडको एक दुर्गम सहरमा दुई आदिवासी विद्रोही समूहबीच भएको गोली हानाहानमा कम्तीमा आठ जनाको मृत्यु भएको प्रहरीले शुक्रबार जनाएको छ ।

गत अक्टोबरदेखि पर्यटकका लागि बन्द रहेको रोनवागन्छरी सहरमा सुरक्षा फौजले विद्रोही समूह कुकी–चिन नेसनल फ्रन्ट (केएनएफ)विरुद्ध कारबाही सुरु गरेपछि झडप भएको थियो ।

यस अभियानले सयौं आदिवासीहरूलाई विस्थापित गरेको छ । यसका कारण कैयौँ व्यक्ति धेरै दिनसम्म पैदल हिंडेर सीमा पार गरेको र उत्तरपूर्वी भारतको एक दुर्गम कुनामा शरण लिएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । 

स्थानीय प्रहरी प्रमुख तारिकुल इस्लामले एएफपीलाई बताएअनुसार दुई प्रतिद्वन्द्वी सशस्त्र समूहबीच बिहीबार राति झडप भएको थियो र अधिकारीहरूले शुक्रबार बिहान आठ जना आदिवासीको शव फेला पारेका थिए ।

उनीहरू सशस्त्र झडपमा मारिएको इस्लामले एएफपीसँग बताए । 

उनका अनुसार आक्रमण भएको खामताङपाडा गाउँमा करिब ६० जना आफ्नो घर छोडेर भागेका छन् । 

नाम नबताउने शर्तमा अर्का प्रहरी अधिकारीले एएफपीलाई बताएअनुसार मृत्यु हुनेमा बावम नामको सानो क्रिश्चियन आदिवासी समुदाय रहेको छ । 

उनीहरू केएनएफका संदिग्ध सदस्यहरू थिए जसलाई युनाइटेड पिपुल्स डेमोक्रेटिक फ्रन्टको विभाजित गुटले गोली हानेर मारेको थियो ।
 
गत महिना बङ्गलादेशी सेनाले केएनएफले आफ्ना एक सैनिकको हत्या गरेको र अर्का एक जनालाई घाइते बनाएको आरोप लगाएको थियो । 

र्‍यापिड एक्सन बटालियन (आरएबी) प्रहरी एकाइले केएनएफले इस्लामी अतिवादीहरूलाई आश्रय र प्रशिक्षण दिएको आरोप पनि लगाएको छ ।

बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्र रहेको चटगाउँ पहाड दुई दशक लामो विद्रोहको स्थल थियो जसले हजारौं सर्वसाधारणको ज्यान लिएको थियो ।

सन् १९९७ मा भएको शान्ति सम्झौतासँगै औपचारिक रूपमा द्वन्द्व अन्त्य भए पनि त्यस क्षेत्रमा कम्तीमा छ वटा सशस्त्र समूह सक्रिय रहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, चैत २५, २०७९  ०५:३७
प्रतिक्रिया दिनुहोस्