पर्यटकको रोजाइमा बङ्गलाचुली भ्युटावर
दाङ–दाङको बङ्गलाचुली गाउँपालिकामा बनाइएको भ्युटावर पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । जिल्लाको उक्त विकट ठाउँ भ्युटावरका कारण चिनिन थालेको छ । भ्युटावरबाट दाङका साथै छिमेकी जिल्ला प्यूठानका विभिन्न ठाउँका मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।
बङ्गलाचुलीमा भ्युटावर, नाचघरलगायत संरचना निर्माणका लागि रु दुई करोड २९ लाख खर्च भएको बङ्गलाचुली गाउँपालिकाका पूर्वअध्यक्ष भक्तबहादुर वलीले जानकारी दिए ।। प्रदेश सरकारअन्तर्गत जिल्ला डिभिजन वन कार्यालयमार्पmत आर्थिक वर्ष २०७६/७७ मा रु ५० लाख र आव २०७७/७८ मा रु २० लाख, पर्यटन बोर्ड भैरहवामार्फत रु पाँच लाख तथा गाउँपालिकाको रु ४५ लाख खर्च भएको छ ।
बङ्गलाचुली उद्यान र भ्युटावरलाई व्यवस्थित गर्दै यसलाई आयआर्जनसँग जोड्ने योजना अघि बढाउन आवश्यक छ । बजेट अभावका कारण आवश्यक संरचना निर्माण गर्न नसकिएको बङ्गलाचुली गाउँपालिकाका अध्यक्ष तुलसीराम पुनको भनाइ छ । ‘सहरबजारको कोलाहलबाट मुक्त पाउन आन्तरिक पर्यटक यहाँ आउने गरेका छन्’, उनले भने ।
स्थानीय तहमा निर्माण गरिएका पर्यटकीय संरचना संरक्षण र व्यवस्थित गर्न सङ्घ र प्रदेश सरकारकको सहयोग आवश्यक रहेको पुन बताउनुहुन्छ । बङ्गलाचुली लेकबाट कञ्चनजङ्गा, धौलागिरि, माछापुच्छ«ेलगायतका हिमशृङ्खला देख्न सकिन्छ । चिसो हावापानी, स्वच्छ वातावरण, वरपर देखिने अग्ला पहाडले पर्यटकको मनै लोभ्याउने गर्छ ।
दाङ सदरमुकाम घोराही उपमहानगरपालिकाको ट्राफिक चोकदेखि ३० किलोमिटर दूरीको यात्रा गरेपछि बङ्गलाचुली गाउँपालिका–५ मुर्कुटी बजार पुगिन्छ । मुर्कुटी बजारबाट दुई किलोमिटर कच्ची बाटो पार गरेपछि बङ्गलाचुली लेक अर्थात् बङ्गाचुली भ्युटावर पुग्न सकिन्छ ।