सनराइज बैंकले दियो विद्यार्थीलाई छात्रवृत्ति
काठमाडौं –सनराइज बैंकले नेपाल प्रहरी विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिएको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ६९ लाख ८० हजार ६ सय ३४ रूपैयाँ सहयोग गरिएको हो ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल र नेपाली जनताको लागि तत्पर भएर लाग्ने नेपाल प्रहरीका विभिन्न ८ वटा विद्यालयमा अध्ययन गर्ने बहालवाला, अवकाशप्राप्त, अमर शहीद एवम् अशक्त प्रहरीका जेहेन्दार सन्ततिहरूलाई उत्प्रेरणा गर्ने उद्देश्यले १५ जना विद्यार्थीलाई कक्षा ४ देखि १२ सम्म अध्ययन गर्न सहयोग स्वरूप छात्रवृत्ति प्रदान गरेको हो ।
सनराइज बैंक–नेपाल प्रहरी शैक्षिक छात्रवृत्ति सम्बन्धी समझदारी पत्र हस्ताक्षर र हस्तान्तरण कार्यक्रममा बैंकबाट नायब महाप्रबन्धक रविनकुमार नेपाल र नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक केदार ढकालले छात्रवृत्ति सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
यस छात्रवृत्ति कार्यक्रमले नेपाल प्रहरीका विभिन्न स्कुलमा अध्ययन गरिरहेका नेपाल प्रहरीका जेहेन्दार छोराछोरीलाई अझ अघि बढ्नका लागि थप प्रेरणा मिल्ने बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले बताए ।