Nic Ad Nic Ad
Nic Ad Nic Ad

सरकार र मिटरब्याज पीडितबीच आज पनि वार्ता

सोमबार, चैत २७, २०७९

काठमाडौँ– सरकार र मिटरब्याज पीडितबीच आज पनि वार्ता हुने भएको छ । आइतबार काठमाडौँको शान्तिबाटिकामा पहिलो वार्ता भएको थियो ।

सो वार्तामा आज पीडितको मागपत्रलाई आधार बनाएर गृह मन्त्रालयमा छलफल हुने सहमति भएको थियो ।

आइतबार भएको वार्ताका क्रममा मिटरब्याज पीडितले सरकारी वार्ता टोलीलाई आफ्ना मागका बिषयमा जानकारी गराएका थिए ।

उनीहरूको माग सुनेपछि सरकारी टोलीले मागहरूका बारेमा अध्ययन गर्ने र आज पुनः वार्तामा बस्ने जनाएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेत नेतृत्वको टोलीले वार्ता गरेको हो ।

गृहका प्रवक्ता बस्नेतले पहिलो दिन परिचयात्मक कार्यक्रम भएको र पीडितहरूको माग सहितको पत्र प्राप्त भएको जानकारी दिए । उनले सरकारको तर्फबाट ५ जनाको टोली बनेको र पीडितको वार्ता टोली १९ जनाबाट घटाउन आग्रह गरेको बताए ।

सोमबार पीडितको मागपत्रलाई आधार बनाएर गृह मन्त्रालयमा छलफल हुने सहमति भएको उनको भनाइ छ ।

त्यस्तै, पीडितको तर्फबाट अवदेश कुशवाहाले सरकारले आफ्नो मागलाई गम्भीरपूर्वक सुनेपछि आगामी वार्ताले माग पूरा हुने वा नहुने टुङ्गो लाग्ने बताए ।

उनले सरकारसँग थप छलफल र वार्ताका लागि आवश्यक सहजीकरणका साथ प्रस्तुत हुने बताए । 

चक्रवृति तथा मिटरब्याजीलाई कारबाही गर्नुपर्ने, जाली तमसुक तथा पीडितको जमिन फिर्ता गर्नुपर्ने लगायतमा माग राख्दै पीडितहरूले काठमाडौँ केन्द्रीत आन्दोलन गरिरहेका छन् ।
 

प्रकाशित मिति: सोमबार, चैत २७, २०७९  १०:२२
प्रतिक्रिया दिनुहोस्