आज प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
काठमाडौँ– संघीय संसद्अन्तर्गत आज दुवै सदनका बैठक बस्ने कार्यक्रम छ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । आजको बैठकमा सम्भावित दुई कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
कार्यसूचीको पहिलो नम्बरमा महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०७८-७९ छ । सो प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गर्ने कार्यसूचीमा उल्लेख छ ।
यस्तै, दोस्रो कार्यसूचीमा ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७८’सम्बन्धी छ । राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रस्तुत गर्ने कार्यक्रम छ ।
यसैबीच, प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको पहिलो बैठक बस्दै छ ।
बैक सभामुख देवराज घिमिरेको अध्यक्षतामा संघीय संसद् भवन बानेश्वरस्थित शंकर हलमा बसिरहेको संसद् सचिवालयले जनाएको छ ।
बैठकमा आजको बैठकको कार्यसूची, विषयगत समिति गठन, दलगत प्रतिनिधित्व, आगामी बैठक लगायतका विषयमा छलफल भइरहेको छ ।
यसैगरी, आजै राष्ट्रियसभाको पनि बैठक बस्ने जनाइएको छ ।