Nic Ad Nic Ad
Nic Ad Nic Ad

५४ मेगावाटको सुपरदोर्दी ‘ख’बाट असारभित्रै विद्युत् उत्पादन हुने

सोमबार, चैत २७, २०७९

काठमाडौँ– आउँदो असारभित्र ५४ मेगावाट क्षमताको सुपरदोर्दी ‘ख’ जलविद्युत् आयोजनाबाट विद्युत उत्पादन हुने भएको छ । आयोजना निर्माणका अधिकांश काम सम्पन्न भएको र आउँदो असारभित्र नै आयोजनाबाट व्यवसायिक रुपमा विद्युत् उत्पादन सुरु हुने जनाइएको छ ।

लमजुङमा निर्माणधीन उक्त जलविद्युत् आयोजनाको हालसम्म ९६ प्रतिशत काम पूरा भएको आयोजना निर्देशक अर्जुन गौतमले जानकारी दिए । पिपुल्स हाइड्रोपावर कम्पनीले प्रवद्र्धन गरिरहेको सो आयोजनाको बाँध, विद्युतगृह, सुरुङमार्ग निर्माण, उपकरण जडानलगायतका काम सम्पन्न भएको आयोजनाले जनाएको छ ।

विसं २०७२ साल असोजदेखि आयोजना निर्माण सुरु गरिएको थियो । २०७८ (असार–साउन) महिनामा दोर्दीखोलामा आएको बाढीका कारण जलविद्यूत् आयोजनाको बाँध बगाएको थियो भने अन्य संरचनामा समेत क्षति पुगेको थियो ।

बाढीका कारण पुगेको क्षतिका कारण आयोजना थप डेढ वर्ष पछि धकेलिन पुगेको आयोजना निर्देशक गौतम बताउँछन् । यसअघि २०७९ असार मसान्तसम्म आयोजना निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको थियो । 

लमजुङको दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणधीन उक्त जलविद्युत् आयोजनाको अधिकांश पूर्वाधार संरचना भूमिगत रुपमा बनेका छन् । आयोजनाको विद्युत् गृहसमेत भूमिगत रहनेछ । कुल ८ अर्ब ८० करोड रुपैयाँमा निर्माण सम्पन्न गर्ने गरी लागत अनुमान गरिएको थियो । तर, आयोजना अवधि लम्बिएसँगै लागत पनि बढ्न सक्ने आयोजनाले जनाएको छ । आयोजना निर्माणमा सानिमा बैंकको अगुवाइमा विभिन्न ७ वटा बैंकको ५ अर्ब ८० करोड रुपैयाँ ऋण लगानी छ ।

७० प्रतिशत ऋण र बाँकी प्रवद्र्धन लगानीमा निर्माण हुँदै आएको छ । आयोजनामा प्रभावित क्षेत्रका जिल्लावासीको मात्र रु २७ करोड लगानी रहेको छ । आयोजनाले सुक्खायाममा आठ रुपैयाँ ४० पैसा र बर्षायाममा चार रुपैयाँ ८० पैसामा विद्युत् खरीद गर्ने (पिपिए) सम्झौता भएको छ । विसं २०७१ सालमा नेपाल विद्युत् प्राधिकरण र आयोजनाबीच पिपिए सम्झौता भएको थियो ।

आयोजनाबाट उत्पादित हुने बिजुली दोर्दी करिडोर प्रसारण लाइनको कीर्तिपुर सबस्टेसन ल्याएर जोडिनेछ । सवस्टेसनसम्म पुग्ने करिब ६ किलोमिटर प्रसारण लाइन निर्माणको कामसमेत अन्तिम चरणमा छ । १३२ केभी क्षमताको दोर्दी करिडोर प्रसारण लाइन पूर्ण सञ्चालनमा आएसँगै आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा जोड्न सहज हुने देखिएको छ ।

प्रकाशित मिति: सोमबार, चैत २७, २०७९  १२:५१
प्रतिक्रिया दिनुहोस्