बालेनलाई नारायणकाजीको सुझाव– कामको औचित्य पुष्टि हुने गरी समन्वय गर्नू
चितवन– उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कामको औचित्य पुष्टि हुने गरी समन्वय गर्नको लागि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनलाई आग्रह गरेका छन् ।
सोमबार भरतपुरमा प्रेस सेन्टर चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा श्रेष्ठले संघीय सरकार स्थानीय र प्रदेश सरकारसँग समन्वयन गरेर संविधानले दिएको जिम्मेवारी पूरा गर्न प्रतिबद्ध रहेको भन्दै कामको औचित्य पुष्टि हुने गरी र तथ्य रुप दिने गरी समन्वय गर्नका लागि बालेनलाई आग्रह गरेका हुन् ।
काठमाडौं महानगरका मेयरका बारेमा व्यक्तिगत रुपमा कुनै टिप्पणी नगर्ने भन्दै उनले ले बिनाकारण बल प्रयोग गर्न अनुरोध मात्रै गर्न जानकारी दिएर नहुने स्पष्ट पारे ।
उनले स्थानीय तहको कार्यक्षेत्रमा केन्द्र सरकारले कुनै हस्तक्षेप नगर्ने उल्लेख गरे ।
त्यस्तै श्रेष्ठले राजनीतिलाई सकारात्मक दिशातर्फ लैजानका निम्ति सबैभन्दा पहिला आफूले आफैँलाई हेर्नुपर्ने बताए । उनले मुलुकका उपलब्धिलाइ उल्टाउन खोज्ने प्रयास भए सह्य नहुने जिकिर गरे ।
उनले नागरिकताका कतिपय विषयमा राष्ट्रिय सहमति आवश्यक रहेको भन्दै सबै दलहरूसँग छलफल गरेर समस्याको समाधान खोजिने धारणा राखे ।
स्वतन्त्र लडेर मेयर भएका बालेनले यसअघि शनिबार सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका थिए ।
स्थानीय नेताहरूले सिसडोलमा फोहोर व्यवस्थापन गर्न पटक–पटक अवरोध गरेको भन्दै मेयर बालेनले सिंहदरबारभित्रबाट निस्कने फोहोर नउठाउने घोषणा गरेका हुन् ।
यसैबारे उपप्रधानमन्त्री श्रेष्ठले प्रतिक्रिया दिएका हुन् ।