Nic Ad Nic Ad
Nic Ad Nic Ad

उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभा आजदेखि

मंगलबार, चैत २८, २०७९

काठमाडौं –उद्योगी व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभा मंगलबारदेखि काठमाडौंमा सुरू हुँदैछ ।

साधारण सभाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम छ । साधारणसभाले महासंघको नयाँ नेतृत्व चयन गर्नेछ ।

यसै साधारणसभाबाट हाल महासंघका वरिष्ठ उपाध्यक्ष पदमा रहेका चन्द्र ढकाल स्वतः अध्यक्ष हुनेछन् भने नयाँ वरिष्ठ उपाध्यक्ष लगायतका पदका लागि बुधबार निर्वाचन हुनेछ ।

उद्योग वाणिज्य महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष चुनिएको व्यक्ति तीन वर्षे कार्यकाल पछि स्वतः अध्यक्ष बन्ने व्यवस्था छ ।

नयाँ वरिष्ठ उपाध्यक्ष चुनिनका लागि उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र सांघाई चुनावी प्रतिस्पर्धामा छन् । उनीहरुले प्यानलसहित उम्मेदवारी घोषणा गर्दै उद्योग व्यापारमैत्री वातावरण निर्माणका लागि सरकारसँग पहल गर्ने लगायतका एजेण्डा अघि सारेका छन् ।

साधारण सभाले महासंघको ६४ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । लुम्बिनी प्रदेश सदस्यमा जमशेर मियाँ र नेपाल–भारत उद्योग वाणिज्य संघका प्रतिनिधि राष्ट्रिय सदस्यका उम्मेदवार सुनील केसी भने यसअघि नै निर्विरोध भएका छन् ।

महासंघको विधानले तीन फरक व्यावसायिक क्षेत्र (जिल्ला–नगर वाणिज्य, वस्तुगत र एसोसिएट) मा एक–एक जना गरी तीन जना उपाध्यक्षको व्यवस्था गरेको छ ।
 

प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  ०९:५७
प्रतिक्रिया दिनुहोस्