Nic Ad Nic Ad
Nic Ad Nic Ad

ताइवानी क्षेत्रमा चिनियाँ युद्धपोत र लडाकु विमान तैनाथ

मंगलबार, चैत २८, २०७९

ताइपेई– ताइवानको जल र हवाई क्षेत्रमा सैनिक अभ्यास अन्त्य भएपछि पनि टापु वरपर युद्धपोत र लडाकु विमान आज पनि तैनाथ गरेको छ । 

मङ्गलबार ताइवानको जलक्षेत्रमा नौ वटा चिनियाँ युद्धपोत र हवाई क्षेत्रमा २६ वटा लडाकु विमान देखिएका ताइवानी रक्षा मन्त्रालयले जनाएको छ । स्थानीय समयअनुसार आज बिहान ११ बजेसम्म चिनियाँ विमान र युद्धपोत आफ्नो जल र हवाई क्षेत्र वरपर तैनाथ थिए । 

हिजो सोमबार तीनदिने सैन्य अभ्यास समाप्त गरेको बेइजिङले आज पनि युद्धपोत र लडाकु विमान आफ्नो वरपरको क्षेत्रमा तैनाथ गरेर युद्धको आभास दिइरहेको छ । ताइवानका राष्ट्रपति साई इङ वेनले क्यालिफोर्नियामा अमेरिकी प्रतिनिधिसभाका सभामुख केभिन म्याकाथीलाई भेटेपछि क्रुद्ध भएको बेइजिङले गत शनिबारदेखि सैन्य अभ्यास शुरु गरेको थियो । 

राष्ट्रपति साईले आफ्ना सहयोगीहरूसँगको कूटनीतिक सम्बन्ध सुदृढ तुल्याउने उद्देश्यका साथ ग्वाटेमाला र बेलिजको भ्रमण पूरा गरी स्वदेश फर्कने क्रममा अमेरिकी सभामुखलाई क्यालिफोर्नियमा भेटेकी थिइन् । गत अगस्टमा तत्कालीन सभामुख न्यान्सी पेलीसीको ताइपेई भ्रमणपछि गरिएको सैन्य अभ्यासभन्दा तुलनात्मक रूपमा पछिल्लो अभ्यास सानो थियो । 

राष्ट्रपति साई र सभामुख म्याकार्थीबीचको कुनै पनि बैठक आफूलाई अमान्य हुने उल्लेख गर्दै चीनले यदि उनले भेटवार्ता गरेमा त्यसविरुद्ध लड्न दृढ उपाय अवलम्बन गर्ने चेतावनी दिएको थियो । देशको सार्वभौमसत्ता र अखण्डतालाई कमजोर बनाउने कुनैपनि गतिविधि सह्य नहुने चीनले बताएको थियो । 

आफ्नै संविधान र सरकार भएको ताइवान एक स्वशासित टापु हो । चीनले यसलाई आफूबाट अलग भएको आफ्नै प्रान्तका रूपमा लिएको छ चीनले स्वायत्त टापु ताइवानलाई आवश्यक परे बल प्रयोग गरेर मुख्यभूमिमा विलय गर्नसक्ने चेतावनी दिँदै आएको छ भने राष्ट्रको ‘एक चीन’ सिद्धान्तअनुसार कुनै पनि देशले चीन र ताइवान दुवैसँग आधिकारिक कूटनीतिक सम्बन्ध कायम गर्न नसक्ने बताउँदै आएको छ । 

चीनले हिजो आफ्नो सैन्य अभ्यास सफलतापूर्वक सम्पन्न भएको बताएको थियो । ताइवानी रक्षा मन्त्रालयले हिजै टापु वरपर १२ वटा चिनियाँ युद्धपोत र ९१ वटा विमान तैनाथ गरिएका दाबी गरेको थियो । ताइवानी सेनाले आफ्नो सुदृढीकरणको प्रयासलाई निरन्तरता दिने बताउँदै आएको छ । 

सन् १९७९ मा वासिङ्टनले बेइजिङसँग कूटनीतिक सम्बन्ध स्थापना गरे पनि ताइपेइको अन्तरराष्ट्रिय सहयोगी एवम् साझेदारका रूपमा वासिङ्टन उभिएको छ । अमेरिका नै ताइवानको सबैभन्दा ठूलो हतियार आपूर्तिकर्ता पनि भएको छ । यस्तो पृष्ठभूमिमा रहेको ताइवान र अमेरिकाबीचको सम्बन्ध अनौपचारिक भए पनि औपचारिक सम्बन्ध जत्तिकै महत्वपूर्ण एवम् अर्थपूर्ण रहेको अमेरिका–ताइवान सम्बन्धबारे अध्ययन गरिरहेका जेम्स लीले बताएका छन् ।

प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  १९:२८
प्रतिक्रिया दिनुहोस्