उपप्रधानमन्त्री श्रेष्ठद्वारा बुद्ध जन्मस्थलको भ्रमण
काठमाडौँ– उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् ।
आज लुम्बिनी आएका उपप्रधानमन्त्री श्रेष्ठसहित नेपालका लागि चिनियाँ राजदूत चेन सोङले लुम्बिनी भ्रमण गरेका हुन् ।
कोषका उपाध्यक्ष भिक्षु मैत्तय (अवधेशकुमार त्रिपाठी), सदस्य सचिव सानुराजा शाक्य तथा प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले गृहमन्त्री श्रेष्ठ र राजदूत सोङलाई स्वागत गरेका थिए ।
विभिन्न कार्यक्रमका सिलसिलामा रुपन्देही आएका गृहमन्त्री श्रेष्ठले मायादेवी मन्दिरको दर्शन, अशोकस्तम्भ, पवित्र बगैँचा, शान्तिदीपको अवलोकन गरे ।
त्यस्तै, चिनियाँ विहारको समेत गृहमन्त्री र राजदूतले निरीक्षण गरेको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए ।
भ्रमणका क्रममा गृहमन्त्री श्रेष्ठले बुद्ध जन्मस्थल लुम्बिनीको पछिल्लो अवस्था, पर्यटकको अवस्था र विकास निर्माणका सवालमा चासो राखेका थिए ।