Nic Ad Nic Ad
Nic Ad Nic Ad

काभा महिला भलिबलमा नेपालले समूह चरणमै भारतविरुद्ध खेल्ने

बुधबार, चैत २९, २०७९

काठमाडौं –सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्यालेन्ज कपको समूह चरणमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ । मंगलबार राति भएको ‘ड्र’अनुसार नेपाल र भारत एकै समूहमा परेका हुन् । 

काठमाडौँको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा हुने प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् । आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । जेठ ६ देखि १५ गतेसम्म हुने प्रतियोगितामा समूह ‘ए’मा नेपाल भारतसँगै बंगलादेश र कीर्गिस्तान छन् । समूह ‘बी’मा उज्वेकिस्तान, श्रीलंका, काजकिस्तान र माल्दिभ्स छन् ।

दक्षिण एसियाको च्याम्पियन भारतले पहिलोपटक यस प्रतियोगिता खेल्न लागेको हो । नेपालले भने दुई पटक यस प्रतियोगिताको उपाधि जितिसकेको छ । भारतको उपस्थितिसँगै नेपाललाई उपाधि रक्षा गर्न कडा चुनौती थपिएको छ । 

नेपाल र भारत पछिल्लोपटक २०१९ मा नेपालमै सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद (साग)को महिला भलिबल फाइनलमा प्रतिस्पर्धा गरेका थिए । उक्त खेलमा नेपाल ३–२ ले पराजित भएको थियो । नेपालकी कप्तान अरुणा शाहीले यस प्रतियोगितामा उक्त हारको बदला लिने अवसर रहेको बताएकी छिन् ।
 

प्रकाशित मिति: बुधबार, चैत २९, २०७९  १०:५४
प्रतिक्रिया दिनुहोस्