श्रमदानका लागि राष्ट्रपति र प्रधानमन्त्रीलाई हर्क साम्पाङको निम्तो
काठमाडौं –धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साङपाङ)ले श्रमदानका लागि आमन्त्रण गर्दे राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्र पठाएका छन ।
सामाजिक सञ्जालमा राष्ट्रपति र प्रधानमन्त्रीलाई लेखेको पत्र सार्वजनिक गर्दै उनले श्रमदानको अवलोकन र सहभागिताको लागि राष्ट्रपति र प्रधानमन्त्रीलाई आग्रह गरिएको बताए ।
केहि दिनअघि काठमाडौँ आएका साम्पाङले राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डलाई आधिकारिक पत्रसहित श्रमदानका लागि निम्ता दिएका थिए ।
धरानमा खानेपानीको समस्या समाधानका लागि चलिरहेको श्रमदान अभियानमा सहभागिताका लागि उनले दुबै जनालाई पत्रमार्फत अनुरोध गरेका छन् ।
‘दशकौँ पहिलेदेखि खानेपानीको समस्या भोग्दै आएको यथार्थ अनुरोध गर्दै हाल खानेपानीको समस्या र आपूर्तिको अवस्था र समस्या समाधानका निम्ति चलिरहेको श्रमदान अभियानको स्थलगत अवलोकन र सहभागिताका लागि हार्दिक आमन्त्रण गर्दछु’, उनले पत्रमा भनेका छन् । पत्रमार्फत उनले धरानको विकासका साथै र संक्षिप्त चिनारी पनि गराएका छन् ।