संसदमा सवारी दुर्घटनादेखि गोर्खा आन्दोलनसम्म बहस
काठमाडौं –बैतडीमा भएको सवारी दुर्घटना, मिटर ब्याज, स्मार्ट टेलिकमको नवीकरण र समान पेन्सनका लागि गोर्खा सैनिकद्वारा भइरहेको आन्दोलनबारे सदनमार्फत सरकारको ध्यानाकर्षण गरिएको छ ।
प्रतिनिधिसभाको बुधबार बसेको बैठकको आकस्मिक समयमा भाग लिँदै सांसद भानुभक्त जोशी भारतका विभिन्न स्थानमा श्रम गरी जन्मथलो बझाङ फर्कने क्रममा वैतडीमा भएको सवारी दुर्घटनमा छ जना मृत्यु हुनका साथै पाँचजना घाइते भएको जानकारी दिए ।
उनले दुर्घटनामा परेका परिवारजनले घाइतेको उपचार र क्षतिपूर्तिको माग गर्दै सडक अवरुद्ध गरेकाले समस्याको समाधानका लागि उचित पहल गर्न गृहमन्त्रालयको ध्यानाकर्षण गराए ।
सांसद ज्ञानबहादुर शाहीले जुम्लासहित कर्णाली प्रदेशमा ठूलो सङ्ख्यामा मानिसहरु मिटर ब्याजको चपेटामा परेकोबारे सदनको ध्यानाकर्षण गराए ।
उनले भने, ‘वास्तविक मिटर ब्याजीको काम सरकारले नै गरिरहेको छ, विकाससहित पूर्वाधार निर्माणमा लगाउनुपर्ने पैसा सरकारी खातामा राखेर ब्याज खाइरहेको छ, सरकारको ब्याज खाने कार्यले विकास निर्माणका ठप्प भएको र ठेकेदारले रकम निकासा पाउन नसकेको अवस्था छ ।’
सांसद पदम गिरीले सरकारले स्मार्ट टेलिकम प्रालिलाई नवीकरण शुल्क नलिइ २५ वर्षका लागि अनुमति दिन लागेको सूचना प्राप्त भएकाले त्यसलाई रोक्न आवश्यक रहेको बताए ।
सांसद मानवीर राईले जीवनको महत्वपूर्ण ऊर्जाशील समय बेलायतका लागि लडेका गोर्खा सैनिक समान पेन्सनका लागि आन्दोलन गरिरहेकाले उनीहरुको माग मुद्दाको पक्षमा उभिन सरकारसँग माग गरे ।
‘समान पेन्सनका लागि गोर्खा सैनिक आन्दोलनमा रहेकाले आगामी हुने वार्तामा अन्यायमा परेका आफ्ना नागरिकको पक्षमा बेलायतसँग गम्भीरताकासाथ प्रस्तुत हुन आवश्यक छ’। उनले भने ।