चेन्नाईमाथि रोमाञ्चक जित निकाल्दै राजस्थान शीर्ष स्थानमा उक्लियो
काठमाडौँ– १६ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा ४ पटकको विजेता चेन्नाई सुपर किंग्समाथि राजस्थान रोयल्सले रोमाञ्चक जित हात पारेको छ ।
गएराति चेन्नाईको घरेलु मैदान एमए चितम्बरम रंगशालामा भएको खेलमा राजस्थानले ३ रनको रोमाञ्चक जित निकालेको हो ।
यस जितसँगै राजस्थान लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
१ पटकको विजेता राजस्थानले आफ्नो चौथो खेलमा तेस्रो जित निकालेको हो ।
राजस्थानले दिएको १७६ रनको लक्ष्य पछ्याएको चेन्नाईले २० ओभरमा ६ विकेट गुमाएर १७२ रनमात्र बनाउन सक्यो ।
चेन्नाईका लागि ओपनर डेभोन कोन्वेले ३८ बलमा ६ चौकाका साथ ५० रनको अर्धशतकीय पारी खेले पनि त्यो आफ्नो टोलीको जितका लागि पर्याप्त भएन ।
राजस्थानका लागि युजभेन्द्र चहल र रविचन्द्रन आश्विनले समान २÷२ तथा सन्दीप शर्मा र एडम जाम्पाले समान १÷१ विकेट हात पारे ।
त्यसअघि टस हारेर ब्याटिङ राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर १७५ रन बनाएको थियो ।
राजस्थानका लागि ओपनर जोस बटलरले अर्धशतकीय पारी खेले । ३६ बलमा १ चौका र ३ छक्काको सहयोगमा उनले सर्वाधिक ५२ बनाए ।।
देवदत्त पडिकलले ३८ तथा रविचन्द्रन आश्विन र शिमरन हिटमायरले ३० रन बनाए ।
चेन्नाईका लागि तुशारदेश पाण्डे, रवीन्द्र जडेजा र आकाश सिंहले समान २÷२ तथा मोइन अलिले १ विकेट लिएका थिए ।
यस जितसँगै राजस्थान ६ अंकका साथ लखनाऊ सुपर जायन्ट्सलाई पछि पार्दै १० टोली सहभागी यस लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
चौथो खेलमा दोस्रो हार व्यहोरेको चेन्नाई भने ४ अंकका साथ पाँचौँ स्थानमा छ ।