होमस्टे चलाउन सहरबाट गाउँ फर्के सिउरुङबासी
लमजुङ– पर्यटकको आगमन बढेपछि सिउरुङका गाउँले पुनः गाउँ फर्कन थालेका छन् । गाउँमा दैनिक आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्न थालेपछि पर्यटन व्यवसायकै लागि सहरबाट गाउँ फर्कनेको सङ्ख्या बढ्दै गएको छ ।
गाउँमा पर्यटकको चाप बढेकाले गाउँमै व्यवसाय गर्ने उद्देश्यले बेसीसहर छाडेर गाउँ फर्किएको सिउरुङकी श्रीमाया गुरुङले बताइन् । होमस्टे (घरबास) सञ्चालन गर्न गाउँ आएको उनको भनाइ छ ।
‘सहरमा भन्दा गाउँमै बसेर मनग्य आम्दानी गर्ने लक्ष्य छ । सहरमा आम्दानीभन्दा खर्च बढी हुन्छ । बचत गर्नै मुस्किल, तर गाउँमा आम्दानीसँगै अन्य घरायसी काम पनि गर्न पाइन्छ । त्यसैले हामी गाउँमै फर्किएका हौं,’ उनले भनिन् ।
गाउँमा पर्यटकीय चहलपहल बढेपछि स्थानीयवासी निकै उत्साहित भएका छन् । पर्यटकलाई राम्रो सेवा र सुविधा दिनयहाँका १७ घरमा व्यवस्थित घरबास पूर्वाधार निर्माण भइसकेको छ ।
समुद्री सतहदेखि १ हजार ८ सय ५४ मिटर उचाइमा अवस्थित सिउरुङमा १ सय २० घर छन् । प्राकृतिक सुन्दरता, न्यानो आतिथ्य, गुरुङ संस्कृतिमा प्रख्यात सिउरुङ गाउँ जैविक विविधताले पनि उत्तिकै महत्वपूर्ण मानिन्छ ।
घरबास सञ्चालनका लागि गाउँ फर्किएकाहरु अहिले दैनिक गाउँमा आएका पाहुनाको स्वागत सत्कारमा व्यस्त हुन्छन् । तीमध्ये कतिपयले घरबासको मापदण्ड बमोजिमका संरचना निर्माण गर्न थालेका छन् ।
सिउरुङमा सिजनको बेलामा दैनिक ३० जना हाराहारी पर्यटक आउन थालेको सिउरुङ पर्यटन विकास समितिका सचिव उमरबहादुर गुरुङले बताए । गाउँमा एकसाथ ८० जनासम्म पाहुनालाई राख्न सकिने उनको भनाइ छ ।
‘जिल्लाका भन्दा बाहिरका विद्यालय तथा क्याम्पसका विद्यार्थी ठूलो समूहमा आउने गरेका छन्,’ उनले भने ।
दैनिक पर्यटकको चहलपहलले गाउँमै रमाइलो हुनेगरेको सिउरुङ फर्केका नन्दबहादुर गुरुङ बताउँछन् ।
‘गाउँको हावापानी राम्रो छ । सामान्य मेहनत गरेरपनि मनग्य आम्दानी हुन्छ । दैनिक पर्यटकको आगमनले गाउँ नै सहर जस्तो भएको छ,’ उनले भने ।
पर्यटन व्यवसायकै निम्ति छोराछोरीलाई छात्रवासमा राखेर गाउँ फर्किएको सिउरुङकी चन्द्रकाशी गुरुङ बताउँछिन् ।
‘बेसीसहर बस्दा खर्चमात्रै हुन्थ्यो, आम्दानी गर्न सकिन्न । अहिले गाउँमा आएर घरबास सञ्चालन गरेपछि छोराछोरीलाई पढाउने खर्च जोहो भएको छ,’ उनले भनिन् ।
सिउरुङलाई २०६२ सालबाट पर्यटकीय गाउँ बनाउने अभियानमा गाउँले लागेका हुन् । गाउँमा पुग्ने पाहुनालाई सामूहिक पाहुना घरमा राखेर सत्कार गर्नु, सोरठी, घाँटू, कृष्णचरित्र, लोकदोहोरी, रोधीलगायत परम्परागत नृत्य प्रस्तुत गर्नु सिउरुङवासीको चलन हो । स्थानीयवासीले गाउँमै उत्पादन गरेका मकै, धान, कोदो, भटमासलगायत हरियो सागसब्जी, गेडागुडी, गाउँमै पालिएका भेडा, खसी तथा कुखुराको मासु खुवाउने गर्छन् । स्थानीयवासीको स्वागत, सत्कार र सम्मानले पर्यटकलाई लोभ्याउने गरेको छ ।
गुरुङ जातिको पुरानो संस्कृति तथा संस्कार जोगाइराख्न पनि यस्ता कार्यक्रम उपायोगी भएको छ । वृद्धवृद्धाले धान्दै आएका यस्ता कार्यक्रम पछिल्लो समय युवा पुस्ताले पनि सिको गर्दै आएका छन् । सिउरुङबाट मनास्लु, माछापुच्छे्र, बौद्ध, लमजुङ, अन्नपूर्ण लगायत हिमाल आँखैअगाडि देखिन्छन् । यहाँबाट सूर्योदयको दृश्य पनि हेर्न सकिन्छ ।
२०६५ सालबाट सिउरुङमा होमस्टे सुरु गरिएको हो । गाउँकै सामुन्ने ऐना जस्तैगरी देखिने मनास्लु हिमश्रृंखलामा पर्ने हिमालचुली, ङादीचुलीलगायतका हिमालले सिउरुङ गाउँको सुन्दरता थपेको छ । बेंसीशहरबाट पर्यटकका लागि सिउरुङ गाउँ होमस्टेमा पुग्नलाई २४ किलोमिटर जिपमा पार गर्नपर्छ । मोटरमाटो पुगे तापनि गुणस्तरीय सडक नहुँदा सिउरुङबासी र त्यहा जाने पर्यटकहरु समस्या झेल्न बाध्य हुँदै आएका छन् । प्राकृतिक सुन्दरताले भरिपूर्ण सिउरुङ गाउँमा गुरुङ जातिको घना वस्ती छ ।
सदरमुकाम बेसीसहरदेखि सिउरुङ गाउँसम्म मोटर पुगेको छ । हिँडेर आउन नसक्नेका लागि मोटरबाटो निर्माणपछि सजिलो भएको छ । बेसीसहरदेखि करिब दुई घन्टा गाडीयात्रा पछि सिउरुङ पुग्न सकिन्छ । सिउरुङबाट थुर्जु–दुधपोखरी हँुदै कास्कीको पर्यटकीय गाउँ सिक्लेस–ताङतिङ जाने बाटोसमेत छ ।
सिउरुङ गाउँबाट कालाघिरिङ हँुदै अन्नपूर्णा पदयात्रा मार्गको च्याम्चे र नामुन भञ्ज्याङ हुँदै मनाङ पुग्ने दुईवटा बाटो रहेको छ । ती पदमार्ग मार्ग सञ्चालन हुनसके पर्यटकको बसाइँ लम्बाउन सकिन्छ ।