एफएनसिसिआई निर्वाचनः जिल्ला नगरमा अन्जन श्रेष्ठले पाए ४० प्रतिशत मत
काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) निर्वाचनको मत गणना जारी छ । निर्वाचन समितिले दिएको जानकारी अनुसार जिल्ला नगरतर्फको मतमा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार अन्जन श्रेष्ठले सबैभन्दा बढी मत पाएका छन् ।
समितिले दिएको जानकारी अनुसार अन्जनले ४७ मत पाएका छन् । यस्तै, वरिष्ठ उपाध्यक्ष पदका अर्का उम्मेदवार रामचन्द्र संघाईले ३७ मत पाएका छन् भने वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार उमेशलाल श्रेष्ठले २८ मत पाएका छन् ।
जिल्ला नगरतर्फबाट ११७ मत खसेको थियो । यसमध्ये केही मत रद्द भएको र केही मत खाली रहेको निर्वाचन समितिले जानकारी दिएको छ । खसेको कुल सदर मतमध्ये अन्जनले ४० प्रतिशत, रामचन्द्रले ३३ प्रतिशत र उमेशले २३.९३ प्रतिशत मत पाएका छन् ।
एफएनसिसिआईको विधानमा खसेको कुल मतको ५० प्रतिशतभन्दा बढी मत पाउने व्यक्ति मात्रै वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुन्छ । अहिलेसम्मको मत परिणाम हेर्दा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नपाउने अवस्था देखिएकोले निर्वाचन दोस्रो चरणमा जाने सम्भावना छ । दोस्रो चरणमा बढी मत ल्याउने २ जना उम्मेदवारको बीचमा प्रतिस्पर्धा हुन्छ ।
अहिलेसम्म एसोसिएटतर्फको मत गणना सकिएको छ । एसोसिएटतर्फको १६ सय ५९ मतमध्ये रामचन्द्रले ६ सय १०, अन्जनले ५ सय ५८ र उमेशले ४ सय १५ मत पाएका छन् । अहिले बस्तुगततर्फको मत गणना जारी छ ।