७ वर्षमा पनि बनेन उपल्लो डोल्पामा स्वास्थ्य चौकी
सुर्खेत– निर्माण सुरु भएको सात वर्षसम्म उपल्लो डोल्पामा स्वास्थ्य चौकी बनेन सकेको छैन । निर्माणको काम पूरा नहुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको छ ।
भवन डिभिजन जुम्लाबाट क्याराभान कन्स्ट्रक्सन जेभीले उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिका–५ तिन्जे स्थित स्वास्थ्य चौकीको भवन निर्माण लागि लिएको ठेक्काको काम अहिलेसम्म पूरा नगरेको हो । पटक पटक ताकेता गरेपनि नसुनेको भवन डिभिजन जुम्लाले जनाएको छ ।
‘काम छिटो गर्नुस् भन्दा हुन्छ भन्छन् तर काम पूरा गर्दैनन्’, भवन डिभिजन जुम्लाका प्रमुख प्रदीप सिंहले भने । भवन निर्माण नहुँदा स्वास्थ्य सेवा प्रवाहमा भारी समस्य आएको भनी गाउँपालिकाबाट पटक पटक गुनासो आएको उनले बताए । अब पनि आलटाल गरिरहे कालोसूचीमा राख्ने समेत उनले चेतावनी दिए ।
भवन आधा बनाइसक्दासम्म कन्स्ट्रक्सनका चन्द्र थकालीले ५० लाख रुपैयाँ दिएको तर बाँकी ४७ लाख रुपैयाँ अझै नदिएको गुरुङले बताए । एक करोड ९७ लाखको उक्त ठेक्का लिएका थकालीले काम गरेका व्यक्तिलाई समेत पैसा नदिएको पाइएको छ । पटक–पटक सम्पर्क गर्न खोज्दा पनि सम्पर्कमा नआएको गुरुङले बताए । अब पनि सम्पर्कमा नआए प्रयोग भएका सामग्री निकाल्ने चेतावनी गुरुङले दिए ।
त्यस्तै फोक्सुण्डो गाउँपालिका–५ भिजेरमा रहेको स्वास्थ्य चौकीको भवन समेत क्याराभानले नै ठेक्का लिएर अलपत्र पारेको छ । सात वर्ष अघि लिएको उक्त ठेक्काको काम समेत आधा बनाएर बीचमै छाडेको गाउँपालिकाले जनाएको छ । भवन नहुँदा सेवा प्रवाहको काम भाडाको सामान्य कोठा लिएर सञ्चालन गर्नुपरेको पालिकाले जनाएको छ ।
त्यस्तै डोल्पोबुद्ध गाउँपालिकामा संघीय सरकारबाट प्राप्त १० शय्याको स्वास्थ्य संस्थाको भवन निर्माणको काम समेत अघि बढ्न सकेको छैन । जग्गा प्राप्तिमा समस्या भएपछि भवन निर्माण अघि बढ्न नसकेको हो । अहिले जग्गाको प्राप्त गर्नका लागि पहल जारी रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम देवकोटाले बताए । यहाँ २ वटा स्वास्थ्य संस्था रहेका छन् । करारका स्वास्थ्यकर्मीबाट काम हुँदै आएको छ ।
तिन्जेमा भवन नहुँदा भाडाको घरमा काम चालू अवस्थामा रहेको उनले बताए । त्यस्तै धो मा भवन रहेको छ । अन्य चार ठाउँमा आधारभूत स्वास्थ्य केन्द्र रहेका छन् । सामान्य खालको औषधी बाहेक अन्य केही सेवा पाउन सक्ने अवस्था यहाँ छैन । औषधी लिन नै मुस्किल हुने भएकाले यहाँ प्रभावकारी स्वास्थ्य सेवा प्रवाहको काम हुन नसकेको हो । आम्चीको सहयोगमा स्वास्थ्य सेवा सञ्चालन हुँदै आएको छ । मंसिरदेखि पालिका छाडेका स्वास्थ्यकर्मी कार्यक्षेत्रमा जान तयार भएका छन् । चिसोको बहाना बनाउदै कर्मथलो छाडेका स्वास्थ्यकर्मी तथा कर्मचारीहरु पालिकामा पहिला टेक्ने तरखरमा रहेका छन् ।
त्यस्तै शे फोक्सुण्डो गाउँपालिकामा ३ वटा स्वास्थ्य चौकी छन् । गाउँपालिकाको वडा नम्वर – ५,६ र ७ को भिजेरमा , १,२,३ र ४ को सालदाङ, ८ र ९ फोक्सुण्डोमा स्वास्थ्य चौकी रहेका छन् । ९ वटा आधारभूत स्वास्थ्य केन्द्र रहेका छन् । दरबन्दी अनुसारका स्वास्थ्य कर्मी नहुँदा काममा समस्य पर्दै आएको छ । यहाँ पनि आम्चीको भरमा काम हुँदै आएको छ। चिसो छल्न मंसिरदेखि बाहिर गएका कर्मचारी भर्खरै फर्किने क्रम सुरु भएको छ । छार्काताङसुङ गाउँपालिकामा भने संघीय सरकारबाट १० शैयाको स्वास्थ्य संस्था निर्माण गर्न बजेट नै पठाएको छैन ।
यहाँ दुई स्वास्थ्य चौकी रहेका छन् भने चारआधारभूत स्वास्थ्य केन्द्र रहेको प्रमुख प्रशासकीय अधिकृत अमरराज सेजुवालले बताए । पर्याप्त स्वास्थ्यकर्मी नहुँदा काम गर्न यहाँ पनि मुस्किल हुँदै आएको छ । आम्चीको भरमा यहाँको स्वास्थ्य चलेको बताएको छ । उपल्लो डोल्पामा ल्यापसेवा देखि सुरक्षित सुत्केरी सेवा समेत नहुँदा जटिल खालको समस्या आउनेबित्तिकै हेलिकोप्टरको सहयोगमा दुनै वा अन्य ठूला अस्पतालमा लिनुपर्ने बाध्यता रहेको छ ।
नाम मात्रका स्वास्थ्य संस्था हुँदा सर्वसाधारणले सेवा नपाएका हुन् । दुर्गम तथा सडक सञ्जालसँग नजोडिएको उपल्लो डोल्पामा स्वास्थ्य सेवा प्रवाह गर्न मुस्किल हुँदै आएको छ । छरिएर रहेका बस्तीमा एक ठाउँबाट अर्को ठाउँमा जाँदा भारी समय लाग्ने भएकाले स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको छ ।