भोलि ३ वटा सिनेमा प्रदर्शनमा आउँदै
काठमाडौं–नयाँ वर्षको अवसरमा शुक्रबार वैशाख १ गते ३ वटा सिनेमा प्रदर्शनमा आउँदैछन् । ‘जारी’, ‘बिहे पास’ र ‘बुलाकी’ नयाँ वर्षको अवसरमा एकसाथ प्रदर्शनमा आउन लागेका हुन् ।
३ वटा सिनेमामा सबैभन्दा धेरै शो ‘जारी’ले पाएको छ । क्यूएफएक्समा ‘जारी’ले ७५ शो पाएको छ । ‘बिहे पास’ले ३४ शो पाएको छ । ‘बुलाकी’ले सबैभन्दा कम १३ शो पाएको छ ।
अन्य मल्टिप्लेक्समा पनि करिब–करिब क्यूएफएक्सकै अनुपातमा शो बाँडफाँट गरिएको छ । तीनवटा मध्ये उच्च बुकिङ ‘जारी’मा देखिएको छ ।
‘जारी’ उपेन्द्र सुब्बाको निर्देशनमा तयार भएको चलचित्र हो । यसमा दयाहाङ राई र मिरुना मगर मुख्य भूमिकामा छन् ।
‘बिहे पास’ प्रवेश पौडेलले निर्देशन गरेको चलचित्र हो । दयाहाङ राई र प्रकृति श्रेष्ठ यसका मुख्य कलाकार हुन् । यस्तै, ‘बुलाकी’ लक्ष्मण सुनारले निर्देशन गरेको चलचित्र हो । सुरक्षा पन्त र नरेन खड्का मुख्य भूमिकामा छन् ।