Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रधानमन्त्रीसहित माओवादी केन्द्रका मन्त्रीले आजदेखि नेता–कार्यकर्तालाई पार्टी कार्यालयमै भेट्ने

प्रचण्ड पुगे पेरिसडाँडा
शुक्रबार, वैशाख १, २०८०

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित नेकपा (माओवादी केन्द्र)का मन्त्रीहरूले आजदेखि नेता र कार्यकर्ता पार्टी कार्यालयबाट मात्रै भेट्ने भएका छन् । 

नयाँ वर्ष २०८० देखि पार्टी कार्यालयमै भेट्ने व्यवस्था गर्ने निर्णय यसअघि माओवादी केन्द्रले गरेकोमा त्यो आज लागू भएको हो । 

प्रधानमन्त्रीसहित मन्त्रीले पार्टी नेता र कार्यकर्ता भेट्न दिउँसो ४ बजेदेखि साँझ ६ बजेसम्मको समय व्यवस्था गरिएको बताइएको छ । यसका लागि माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड बिहान ८ बजे नै पार्टी कार्यालय पुगिसकेको उनको सचिवालयले जनाएको छ । 

पार्टीका प्रमुख सचेतक हितराज पाण्डेका अनुसार माओवादी केन्द्रले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डको परामर्शमा यस्तो नीति ल्याइएको हो । मंगलबार दिउँसो बसेको माओवादी संसदीय दलको बैठकले प्रधानमन्त्रीसहित मन्त्रीले भेट्ने समय कार्यतालिका निर्धारण गरेर निर्णय गरिएको उनले बताए ।

प्रधानमन्त्री निवाससहित प्रधानमन्त्री कार्यालय र मन्त्रालयमा अत्यन्तै भिडभाड हुन थालेपछि नेता र कार्यकर्ता भेट्न पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट मात्रै व्यवस्था गरिएको बताइएको छ ।

माओवादी केन्द्रले बिहान १० बजेदेखि २ बजेसम्म मन्त्रालयको काम कारबाहीमा समय दिने, दिउँसो ४ बजेदेखि साँझ ६ बजेसम्म पार्टी नेता–कार्यकर्तालाई भेट्न समय दिनुपर्ने तालिका बनाएको छ ।

त्यसपछिको समय निमन्त्रणा गरिएका संघ–संस्थाका व्यक्तिलाई भेट्ने कार्यतालिका छ ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १, २०८०  ०८:५४
प्रतिक्रिया दिनुहोस्