सानेलाई मानेले मुक्का हानेपछि...
काठमाडौँ– जर्मन क्लब बायर्न म्युनिखका दुई खेलाडीबीच झगडा परेको छ । यस क्रममा फरवार्ड साडियो मानेले विंगर लिरोय सानेलाई मुक्का प्रहार गरेका छन् ।
जर्मन खेलाडी सानेलाई मुक्का हानेको समाचार बाहिरिएपछि बायर्नले सेनेगलका स्ट्राइकर मानेलाई निलम्बन गरेको हो ।
बायर्नले मानेलाई निलम्बन गर्दै शनिबार हुन गइरहेको होफेनहाइमविरुद्धको खेलमा टिम बाहिर राखेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
मंगलबार राति च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीविरुद्धको खेलपछि ड्रेसिङ रुममा मानेले सानेको अनुहारमा प्रहार गरेको एउटा जर्मन अखबारले समाचार छापेको थियो ।
च्याम्पियन्स लिगको क्वार्टरफाइनलको पहिलो लेगमा बायर्नलाई सिटीले ३–० ले हराएको थियो । यसपछि खेलाडीबीच तनाब भएको बताइएको छ ।
बायर्नले मानेलाई टोलीबाहिर राख्नका साथै जरिवाना पनि गरेको दाबी छ ।
माने र सानेले भने यस घटनाबारे सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएका छैनन् ।
यी दुवै खेलाडी इंग्लिस प्रिमियर लिगका क्लबहरूबाट बुन्डस लिगा गएका हुन् । मानेले लिभरपुलबाट खेलेका थिए भने साने म्यानचेस्टर सिटीमा थिए ।