Nic Ad Nic Ad
Nic Ad Nic Ad

जनकपुर जयनगर रेल सेवा आजबाट दिनको चार पटक सञ्चालन हुने

शुक्रबार, वैशाख १, २०८०

काठमाडौँ– नेपालको कुर्थादेखि भारतको जयनगरसम्म आजबाट दिनको ४ पटक रेल आवत जावत हुने भएको छ ।

हाल नेपालको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनमा रहेको नेपालको एक मात्र रेल सेवा नेपाल रेल्वे शुक्रवारदेखि दिनको चार पटक आवत जावत गर्दै सेवा बिस्तार गरेको हो । यसअघि दुई पटक मात्र आवतजावत गर्ने गरेको रेल नयाँ वर्ष २०८० को प्रारम्भसँगै आजदेखि चारपटक आवत जावत गर्नेगरी सञ्चालनमा आउने भएको हो ।

रेल्वेका महाप्रवन्धक निरञ्जन झाका अनुसार अब नेपालको कुर्थाबाट रेल बिहान ७ बजेर १५ मिनेटमा र बेलुकी २ बजेर ४५ मिनेटमा भारतको जयनगरका लागि प्रस्थान गर्नेछ भने भारतको जयनगरबाट रेल जनकपुरधाम वा कुर्थाका लागि बिहान ९ बजेर ३० मिनेट र बेलुकी पाँच बजे प्रस्थान गर्नेछ । यो सेवा बिस्तारसँगै रेल्वेमा यात्रुको चाप कम हुने र आरामदायी यात्रा हुने विश्वास छ ।

यसअघि एक पटक मात्र कुर्थाबाट खुल्ने गरेको रेलमा यात्रु बस्ने सिटको अभाव र अनावयश्क भीडभाड हुने गरेको थियो । महाप्रवन्धक झाले बिजलपुरासम्म रेल सेवा बिस्तारका लागि दुई चरणको इन्पेक्सनको काम सम्पन्न भइसकेको जानकारी गराउँदै बाँकी अधुरा कामहरु छिट्टै पूरा गरेर आफूहरुलाई हस्तान्तरण गर्न भारतीय कम्पनी इरकनलाई आग्रह गरिएको बताए । 

उनले चाँडै नै बिजलपुरासम्म रेल सेवाको बिस्तारको लागि प्रयासरत रहेको बताए । थप एक यात्रुवाहक र एक कार्गो गरी दुई रेल सरकारसँग माग गरेको उनले जानकारी दिए । अब सहज र सुलभ रेलसेवा उपब्ध हुने भन्दै महाप्रबन्धक झाले यसअघि १० बजे जनकपुरधामबाट हिँड्ने रेल साढे ११ बजे जयनगर पुग्ने र पुनः ३ बने जनकपुरधामका लागि छुट्ने समय तालिकाका कारण यात्रुलाई किनमेल र भारतीय बजारमा किनमेलका लागि समेत समय अभाव हुने गरेको थियो ।

महाप्रवन्धक झासहित भारतीय प्राविधिकहरुको टोली समेत मिलेर रेल अगाडिको लिकमा नारिवल फोड्दै सेवा बिस्तारको शुभारम्भ गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १, २०८०  १४:१४
प्रतिक्रिया दिनुहोस्