इलाम माइपोखरी म्याराथनमा श्रेष्ठ र पछाई र विजयी
इलाम –माइपोखरी म्याराथनमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका हुमलाल श्रेष्ठ र महिलातर्फ नेपाल पुलिसकी राजपुरा पछाई विजयी भएका छन् ।
शुक्रबार ४२ दशमलव दुई किलोमिटर दूरी दुई घण्टा ५८ मिनेट १६ सेकेन्डमा पार गर्दै आर्मीका श्रेष्ठ प्रथम भएका हुन्। यस्तै, पुलिसकी पछाई २१ दशमलव १ किलोमिटरको दूरी एक घण्टा ४७ मिनेट ४५ सेकेन्डमा पार गर्दै महिलातर्फ प्रथम भएकी छन् ।
प्रथम हुने आर्मीका श्रेष्ठले दुई लाख ५० हजार रुपैयाँ र महिलातर्फ प्रथम हुने पुलिसकी पछाईले नगद एक लाख रुपैयाँ हात पारेका छन् । म्याराथनमा पुरुषतर्फ आर्मीकै मोहनदेव जोशी दोस्रो र आर्मीकै बेद सुनुवार तेस्रो भएका थिए । जोशीले तीन घण्टा पाँच मिनेट ३४ सेकेन्डमा निर्धारित दूरी पार गरेका थिए ।
जोशीले एक लाख ५० हजार नगद हात पारे । तेस्रो हुने सुनुवारले तीन घण्टा पाँच मिनेट ३५ सेकेन्डमा दूरी पार गर्दै एक लाख नगद पुरस्कार प्राप्त गरे । पुरुषतर्फ ९७ धावक सहभागी भएका थिए ।
महिलातर्फ सशस्त्र प्रहरीको एपीएफकी पुष्पा भण्डारी दोस्रो भइन् । भण्डारीले एक घन्टा ५८ मिनेट २१ सेकेन्डमा निर्धारित दूरी पार गर्दै नगद ५० हजार पुरस्कार पाइन् ।
आर्मीकी पूर्णलक्ष्मी न्यौपाने एक घन्टा ५९ मिनेट १९ सेकेन्डमा दूरी पार गर्दै तेस्रो भइन् । इलाम नगरपालिका, सन्दकपुर गाउँपालिका र रणशार्दुल गण इलामले संयुक्त रुपमा प्रतियोगिता आयोजना गरेका हुन् ।