Nic Ad Nic Ad
Nic Ad Nic Ad

हैदराबादको लगातार दोस्रो जित, कोलकाताको दोस्रो हार

शनिबार, वैशाख २, २०८०

काठमाडौँ– भारतमा जारी १६ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा सनराईजर्स हैदराबादले लगातार दोस्रो जित हात पारेको छ ।

गएराति इडन गार्डेनमा भएको खेलमा हैदराबादले घरेलु टोली कोलकाता नाइट राइडर्सलाई २३ रनले पराजित गर्दै चौथो खेलमा लगातार दोस्रो जित हात पारेको हो ।
हैदराबादले दिएको २२९ रनको विशाल लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ७ विकेट गुमाउँदै २०५ रनमात्र बनायो । 

कोलकाताका कप्तान नितिश राणा र रिंकु सिंहले अर्धशतक पारी खेले पनि त्यो टोलीको जितका लागि पर्याप्त भएन ।

राणाले ४१ बलमा ५ चौका र ६ छक्कासहित ७५ रनको बनाएर आउट हुँदा सिंह ३१ बलमा ४ चौका र ४ छक्कासहित ५८ रनमा अविजित रहे ।

हैदराबादका लागि मार्को जनसन र मायांक मारकान्डेले समान २–२ विकेट लिए । ।

यस्तै, भुवनेश्वर कुमार, टी नटराजन र उमरान मलिकले समान १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ४ विकेट गुमाएर २२८ रन बनाएको थियो ।

हैदराबादका लागि ओपनर ह्यारी ब्रुकले १२ चौका र ३ छक्कासहित अविजित १०० रनको शतकीय पारी खेले । प्लेयर अफ दी म्याच चुनिएका ह्यारीले ५५ बलमा आफ्नो शतक पूरा गरेका थिए ।

यस्तै, कप्तान एडेन माक्ररमले २६ बलमा २ चौका र ५ छक्काको सहयोगमा ५० रनको अर्धशतकीय पारी खेले ।

यसैगरी, अभिषेक शर्माले ३२ तथा हेनरिक क्लासेनले ६ बलमा अविजित १६ रनमा बनाए ।

कोलकाताका लागि आन्द्रे रसलले सर्वाधिक ३ विकेट लिए ।

चौथो खेलमा दोस्रो जित निकाले हैदराबाद १० टोली सहभागी लिगको सातौँ स्थानमा रहेको छ । 

चौथो खेलमा दोस्रो हार व्यहोरेको कोलकाता ४ अंकका साथ चौथो स्थानमा रहेको छ । हारका बाबजुद कोलकाता हैदराबादभन्दा अगाडि छ । समान ४ अंक भए पनि कोलकाता रनरेटमा अगाडि भएको हो । 

प्रकाशित मिति: शनिबार, वैशाख २, २०८०  ०८:२५
प्रतिक्रिया दिनुहोस्