Nic Ad Nic Ad
Nic Ad Nic Ad

कांग्रेसले नाम दिए आइतबारसम्म मन्त्रिपरिषद् विस्तार हुने

शनिबार, वैशाख २, २०८०

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसलाई बाँकी रहेका मन्त्रीहरूको नाम दिन आग्रह गरेका छन् ।

बालुवाटारमा शनिबार सत्ता गठबन्धनका ३ शीर्ष नेताहरूबीच भएको बैठकमा प्रधानमन्त्री प्रचण्डले कांग्रेसका भागमा परेका ४ मन्त्रीको नाम दिन सभापति शेरबहादुर देउवासँग आग्रह गरेका हुन् । 

कांग्रेसको भागमा परेका ८ मध्ये ४ वटा मन्त्रालयमा मन्त्रीको नाम पठाउन सकेको छैन ।

कांग्रेसभित्रको आन्तरिक किचलोले गर्दा सभापति देउवालाई मन्त्रीको नाम पठाउन ढिलाई भएको हो ।

कांग्रेसले स्वास्थ्य, परराष्ट्र, न्याय र खेलकुद मन्त्रालयमा मन्त्री पठाउन बाँकी छ ।

कांग्रेसले नाम दिए आइतबारसम्म मन्त्रिपरिषद् पूर्णता दिने प्रधानमन्त्रीको तयारी छ । 

प्रधानमन्त्रीको काँधमा अहिले पनि ६ वटा मन्त्रालय छन् । त्यसमध्ये ४ मन्त्रालय कांग्रेस, एक जसपा र एक प्रभु साह वा अमरेशकुमार सिंहमध्येबाट मन्त्री बनाउने उनको तयारी छ । 

कोइराला समूहले तीन मन्त्रालयमा दाबी गरेको छ । तर, देउवाले दुई वटा मन्त्रालय दिने अडानमा छन् ।

सभापति देउवाले उपप्रधानमन्त्रीसहित रक्षामा उपसभापति पूर्णबहादुर खड्का, अर्थमा प्रवक्ता डा. प्रकाशशरण महत, शहरी विकासमा सीता गुरुङ र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा रमेश रिजाललाई पठाएका छन् ।

यस्तै जनता समाजवादी पार्टीले पाएको दुईमध्ये शिक्षा मन्त्रालयमा अशोक राईलाई पठाए पनि एक मन्त्रालयमा मन्त्री पठाउन बाँकी छ । जसपाले आफूले पाएको वन तथा वातावरण मन्त्रालयमा मन्त्रीको नाम दिन सकेको छैन । यस्तै जनमत पार्टीले छोडेको खानेपानी मन्त्रालय पनि रिक्त छ । 

प्रकाशित मिति: शनिबार, वैशाख २, २०८०  १५:१८
प्रतिक्रिया दिनुहोस्