प्रधानमन्त्रीदेखि वडाध्यक्षसम्मले महाविपत्तीमा जस्तै काम गर्नुपर्छ : गगन थापा
काठमाडौं- सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले महाविपत्तीमा जस्तै काम गर्नुपर्ने बताउका छन् ।
महामन्त्री थापाले प्रधानमन्त्रीदेखि मन्त्रीसम्म, प्रदेश मन्त्रीदेखि स्थानीय तहका वडाध्यक्षले समेत महाविपत्तीमा जस्तै काम गर्नु पर्ने बेला आएको बताउका हुन् ।
कांग्रेस मकवानपुर–काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुक संकटमा रहेको बेला सरकारले त्यसलाई महशुस गरेर परिणाम दिने गरी काम गर्नु पर्ने स्पष्ट पारे । सरकारले राम्रो काम गर्दै गए ३÷४ महिनाभित्रै मुलुक सम्हालिँदै जाने उनको भनाइ थियो ।
‘प्रधानमन्त्रीदेखि मन्त्रीसम्म, चाहे त्यो प्रदेशको मन्त्री होस् । चाहे त्यो नगरको मेयर होस् वा चाहे त्यो वडाध्यक्ष होस् । चाहे त्यो देशमन्त्री, प्रधानमन्त्री होस् । उसको सोच्ने तरिका भनेको नेपालमा अहिले महाविपत्ती आएको छ,’ महामन्त्री थापाले भने, ‘युद्धको बेलामा जस्तो सोच्ने हुनु पर्दछ, यसमा हामीले ठिक ढंगले काम गर्न सक्यौ भने अबको ३÷४ महिनाभित्रमा देशमा सबै कुरा सम्हाल्न नसकिने भएको पनि होइन, स्थिति ठिक छैन, असहज छ, राम्रोसँग सम्हालेनौ भने बिग्रदै जान्छ ।’
महामन्त्री थापाले कुनै पनि पार्टीले एकल सरकार बनाउने अवस्था नरहेको भन्दै निर्वाचन प्रणाली सुधारका लागि संविधान संशोधन गर्नु पर्नेमा जोड दिए ।