पहिलो पटक आठविसकोटको दुर्गमबस्तीमा विद्युत् पुग्यो
रुकुम– रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको दुर्गम मानिने बस्ती वडा नं ४ र ६ मा पहिलो पटक विद्युत् लाइन पुगेको छ ।
नगरपालिकाको अन्य वडामा विद्युत् विस्तार भए पनि वडा नं ४ र ६ का बस्तीमा भने पहिलो पटक एघार हजार केभिएको विद्युत् लाइन पुगेको छ ।
केन्द्रीय विद्युत् लाइन वडा नं ४ को गोतामकोट हुँदै ६ नं वडाको त्रिवेणी, छिमी मन्का र रुकुम र डोल्पाको सिमाना करबगारसम्म विस्तार हुनेछ । विद्युत् प्रशारण भएसँगै आज एक कार्यक्रमकाबीच ४ नम्बर वडाको बगेनामा ट्रान्समिटरमा बत्ती बालेर आठबीसकोट नगरपालिकाका नगर प्रमुख रवि केसीले विद्युत् लाइनको उद्घाटन गरे ।
विद्युत् लाइन प्रशारण भए पनि टोलटोलमा पोलमा तार राख्ने, कस्नेलगायतका काम जारी रहेको विद्युत् प्राधिकरण रुकुम पश्चिमले जनाएको छ । वाइरिङ जडान गरिएका घरमा छिट्टै बत्ती सञ्चालन हुने र बाँकी घरमा वाइरिङ नगरेकालाई पनि छिटो वाइरिङ गर्न अनुरोध गरिएको छ ।
निर्वाचन घोषणापत्रमा भनेअनुसार दुई वर्षभित्र सबै वडाका केन्द्रसम्म केन्द्रिय लाइन विस्तार र पाँच वर्षभित्र नगरपालिकाका सबै गाउँमा विद्युतीकरण गर्ने प्रतिबद्धताअनुसार विद्युत् विस्तारको काम भइरहेको नगर प्रमुख रवि केसीले बताए ।
वडा नं ५ मा पनि विद्युत् विस्तारको काम तीव्र रुपमा चलिरहेकाले अब वडा नं ४ र ६ का बस्तीमा विद्युत् विस्तारकार्य अगाडि बढ्नुका साथै छिमेकी जिल्ला डोल्पामा पनि विद्युत् विस्तारमा सहज हुने उनले बताए । विद्युत्ले जनताको घर उज्यालोसँगै आर्थिक उन्नतिमा नगरपालिकालाई समेत सहयोग पुग्ने अपेक्षा रहेको नगर प्रमुख केसीको भनाइ छ ।
विद्युत् विस्तार भएसँगै ४ नम्बर वडाका पाँच सय ६६ घरपरिवार र ६ नम्बर वडाका पाँच सय ४६ घरपरिवार गरेर एघार सय १२ घरघरपरिवार लाभान्वित हुनेछन । विद्युत् प्राधिकरण रुकुम–पश्चिम र आठबीसकोट वितरण शाखाले संयुक्त रुपमा विद्युत् विस्तारको काम गरिरहेका छन् । -रासस