चितवनमा रविले जिते फेरि उपचुनाव हुन्छ : योगेश भट्टराइ
चितवन –नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले चितवन –२ मा विगतको नजिता दोहोरिए फेरि उपनिर्वाचन हुने दाबी गरेका छन् । सचिव भट्टराइले गत मंसिर ४मा जस्तो नतिजा आए फेरी उपनिर्वाचन हुने दाबी गरे ।
भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति संकेत गर्दै फेरि पनि उनले जिते चितवन–२ मा पुनः चुनाव गराउनुपर्ने अवस्था आउने टिप्पणी गरेका हुन् ।
प्रेस चौतारी चितवन शाखाले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नागरिकता र राहदानी विवादमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फेरी दोषी ठहरिने पनि दाबी गरे । ‘उहाँका कतिपय कुराहरू न्यायपालिकाले निरूपण गर्ने विषय छन् । पटक पटक चितवनले उपनिर्वाचन गर्ने अवस्था नओस् । विगतको परिणाम दोहोरिए चितवनमा फेरी उपनिर्वाचन हुन्छ ।’
भट्टराइले चितवन, बारा र तनहुँका मतदाताले उपनिर्वाचन हुनुपर्ने कारणबारे प्रश्न उठाउनुपर्ने पनि बताए । ‘उपनिर्वाचनमा ३० करोडभन्दा बढी राज्यको ढुकुटी खर्च हुँदैछ,’ उनले भने ‘आवश्यक खर्च बारे प्रश्न उठ्नुपर्छ ।’ बैशाख १० गते हुन लागेको निर्वाचनमा चितवन २ मा एमालेले जित निकाल्ने भट्टराईले दाबी गरे ।
‘मंसिर ४ र बैशाख १० गतेको निर्वाचन धेरै फरक हुनेवाला छ, उनले भने ‘मंसिर ४ को निर्वाचन एउटा आशा र विकल्पको रुपमा हेरिएको थियो । तर, छोटो समयमै बानटेस्टेड हुनुभयो ।’
चितवन २ मा एकीकृत समाजवादी र माओवादीको आफ्नो उम्मेदवार नभएकाले एमालेका उम्मेदवारलाई सहयोग गर्न अपिल गरेका छन् । यहाँबाट एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने उम्मेदवार छन् ।
यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाली कांग्रेसका नेता जीतनारायण श्रेष्ठ, एमालेका नेता रामप्रसाद न्यौपाने, राप्रपाका जिवलाल पुरी, राजमोका उपाध्यक्ष जकराज शर्मा लगायतका नेता चुनावी होमिएका छन् ।