Nic Ad Nic Ad
Nic Ad Nic Ad

डढेलोले देशभर वायु प्रदूषण बढ्यो

प्रदूषण केही दिन कायम रहने अनुमान
आइतबार, वैशाख ३, २०८०

काठमाडौं –हाल केही दिन यतादेखि देशका विभिन्न ठाउँमा लागेको डढेलोका कारण देशभर वायु प्रदूषण बढेको छ । डढेलोकै कारण काठमाडौँ उपत्यकासहित देशभर वायु प्रदूषण बढ्दै गएको र केही दिनयता नेपालको वायु अस्वस्थकर बन्दै गएको वातावरण विभागले जनाएको छ । 

विभागका अनुसार अहिले पनि काठमाडाँै उपत्यकामा रहेका सबैजसो वायु प्रदूषण मापन केन्द्रले हावा प्रदूषित भएको जनाएका छन् । काठमाडौँ विश्वकै प्रदूषित सहरको सूचीमा दोस्रो स्थानमा रहेको जनाइएको छ । आइतबार बिहान ९ः३० बजेको हावाको गुणस्तर मापक सूचक (एक्यूआई) का अनुसार काठमाडाँै दोस्रो सूचीमा रहेको हो ।

एक्यूआई ५० भन्दा धेरै भएमा कमजोर स्वास्थ्य भएका समूह जोखिममा पर्छन् भने एक सयभन्दा माथि भएमा सबैका लागि अस्वस्थ हुन्छ । काठमाडौँको एक्यूआई अहिले एक सय ९२ छ । सूचीको पहिलो स्थानमा थाइल्याण्डको च्याङमाइ सहर रहेको जनाइएको छ । च्याङमाइको एक्यूआई दुई सय २२ छ । यसैगरी तेस्रो स्थानमा भारतको दिल्ली, चौथोमा बङ्लादेशको ढाका र पाँचौँ स्थानमा भारतको कोलकाता छ ।

एकाउन्नदेखि सयसम्म एक्यूआई मापन गरिएको वायु सामान्य अवस्थाको मानिने गरिन्छ । त्यसभन्दा माथिको एक्यूआई अस्वस्थकर हुन्छ । एक्यूआई तीन सयभन्दा माथि पुगेमा वायु प्रदूषण डरलाग्दो र घातक हुने बताइएको छ ।

पछिल्लो समय लुम्बिनी प्रदेशसहित गण्डकी, बाग्मती, मधेस र कोसी प्रदेश क्षेत्रमा डढेलो लाग्दा प्रदूषण भएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव एवम् डढेलोविद् सुन्दर शर्माले बताए । देशका पूर्वी क्षेत्रमा ४ सयभन्दा बढी क्षेत्रमा आगलागी भइरहेको शर्माले बताए । सानो सङ्ख्यामा आगो लाग्दा खास्सै समस्या नभए पनि व्यापक मात्रामा डढेलो लाग्दा अत्यन्तै प्रदूषण भएको शर्माले बताए । वन विभागका अनुसार अहिले देशभर २८ स्थानमा डढेलो लागेको छ । वैशाख १ गतेसम्म झण्डै एक सय स्थानमा डढेलो लागेको थियो ।

डढेलोबाट उत्पन्न प्रदूषणले दीर्घ रोगीलाई समस्या गराउन सक्ने भएकाले सजग रहन शर्माले आग्रह गरे । 

विश्व स्वास्थ्य सङ्गठनको मापदण्डमा पिएम २ दशमलव १० र न्यूनतम २५ माईक्रोग्राम हुनु पर्ने व्यवस्था छ भने नेपालमा ४० माईक्रोग्राम हुनुपर्ने व्यवस्था छ । तर, उपत्यकासहित तराईमा नेपाल सरकारले तोकेको मापदण्डभन्दा सय पिएम प्रदूषण भएको छ । आँखाले देख्न नसक्ने स–साना धुलोका कणहरू अक्सिजनको माध्यमबाट फोक्सो हुँदै रक्त कोषसम्म पुग्ने भएकाले अत्यन्तै हानिकारक मानिन्छ । आइतबार काठमाडौँको रत्नपार्कमा १४३ पिएम, कीर्तिपुर १५२ पिएम, भैसेपाटी १६५ पिएम, खुमलटार १८१ पिएम छ । जुन विश्व स्वास्थ्य संगठनले तोको भन्दा तेब्बर भन्दा बढी प्रदूषण हो ।

प्रदूषण अझै रहने 

तत्काल ठूलो पानी पर्ने सम्भावना नभएकाले वायु प्रदूषण केही दिन कायम रहने अनुमान गरिएको छ । मौसमविदका अनुसार वायु प्रदूषण हट्न ठूलो पानी पर्नुपर्छ वा बेस्सरी हावा चल्नुपर्छ । तर त्यसो नहुँदा कचौरा आकारमा रहेको काठमाडौं उपत्यकामा वायु प्रदूषण कायम छ ।

वर्षाका गतिविधि कम र डढेलोका घटना बढी भएकाले वायु प्रदूषणमा वृद्धि भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकी मौसमविद सजिना शाक्यले काठमाडौं उपत्यकामा केही दिन पानी पर्ने सम्भावना नभएको बताइन् । 

खासगरी चैत महिनामा आगलागी र डढेलोका घटना बढी हुने भएकाले वायुप्रदूषण पनि बढ्छ । 

यसअघि २०७७ साल चैत महिनामा वायु प्रदूषण बढेपछि सरकारले चार दिन विद्यालय बन्द गराएको थियो ।
 

प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  १३:५३
प्रतिक्रिया दिनुहोस्