५ वैशाखदेखि नेसनल चेस च्याम्पियनसिप हुने
काठमाडौं–नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा हुने नेसनल चेस च्याम्पियनसिप आउँदो वैशाख ५ गतेदेखि सुरु हुने भएको छ ।
काठमाडौंको लाजिम्पाटमा हुने प्रतियोगिताको बारेमा आयोजकले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।
वैशाख १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा २२औँ ओपन र सातौँ वुमन गरी दुई विधामा प्रतिस्पर्धा हुनेछ ।
राउन्ड रोविन पद्दतिमा सञ्चालन हुने प्रतियोगिताको दुवै विधामा समान १० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । जसमध्ये आठ जना नेसनल ‘बी’ च्याम्पियनसिपबाट आउनेछन् भने बाँकी एक उच्च रेटिङ भएका र एक वर्तमान च्याम्पियनको सहभागिता हुनेछ ।
प्रतियोगिताको विजेताले आगामी मे १ देखि ११ सम्म बंगलादेशको ढाकामा आयोजना हुने फिडे जोन ३.२ चेस च्याम्पियनसिप र काजाकस्तानमा जुन ५ देखि १५ सम्म हुने एसिया कन्टिनेन्टलमा सहभागिता जनाउने पाउने आयोजकले जनाए ।
यसबाहेक, विजेताले अर्को वर्ष हंगेरीको बुडापेस्टमा हुने ४५औँ चेस ओलम्पियाडमा पनि सहभागिता जनाउन पाउने छन् ।
यस्तै, च्याम्पियनसिपको शीर्ष तीनमा रहने खेलाडीले अर्को वर्ष हुने प्रतियोगिताको नयाँ संस्करणमा समेत सहभागिता जनाउने पाउने आयोजकले बताए । प्रतियोगिता आयोजनाका लागि करिब नौ लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।