Nic Ad Nic Ad
Nic Ad Nic Ad

यमनका विद्रोहीद्वारा मृत्युदण्ड सुनाइएका चार पत्रकार रिहा

आइतबार, वैशाख ३, २०८०

साना– यमनका विद्रोही र सरकारी सेनाले करिब ९०० बन्दीबीच तीन दिने आदानप्रदानको अन्तिम दिन आइतबार सयौं कैदीलाई रिहा गरेका छन् ।

हुथी विद्रोहीको नियन्त्रणमा रहेको राजधानी साना र सरकार नियन्त्रित उत्तरी शहर मारिबबाट एकै समयमा बन्दीहरूलाई लिएर आएका विमानहरू उडेको रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) ले जनाएको छ ।

“मारिब र सानाबाट विमान परस्पर दुई विपरित दिशामा एकै समय विमानले कैदीलाई लिएर विमान छुटेका छन्”, आईसीआरसीकी सञ्चार सल्लाहकार जेसिका मौसानले एएफपीसँग भनिन्, “मारिब–साना उडानमा ४८ जना र साना–मारिब उडानमा ४२ जना पूर्व कैदी रहेका ।”

गत महिना स्विट्जरल्याण्डमा ७०६ विद्रोहीसँग १८१ सरकारी सेनाको आदानप्रदान गर्ने सम्झौतालाई पूरा गर्न आइतबार अन्य तीन उडानहरू पनि तय भएका छन् ।

इरानी समर्थित हुथी विद्रोहीसमूहले मृत्युदण्डको सजाय सुनाइएका चार जना पत्रकार आदानप्रदानमा सहभागी भएको सरकारी वार्ताकार माजेद फडेलले जानकारी दिइन् । 

विद्रोही राजनीतिक प्रमुख महदी अल मशातले हुथी विद्रोहीविरुद्ध सैन्य गठबन्धनको नेतृत्व गरिरहेको साउदी अरबसँग अर्को चरणको वार्ता अप्रिल २१ मा इद उल फित्रको बिदापछि सुरु हुने बताएका छन् । 

सरकार नियन्त्रित एडेन र सानाबीच शुक्रबार चार वटा उडानमा ३१८ जना कैदीलाई पु याउनुभन्दा केही घण्टाअघि अन्तिम वार्ता सकिएको थियो ।

शनिबार ३५७ जना कैदीबन्दीले साउदी अरबको आभा र साना शहरबीच उडान भरेका थिए । रिहा हुनेमा साउदी पनि रहेका छन् ।

प्रत्येक पक्षका कति जना कैदीबन्दी छन् भन्ने यकिन छैन ।

हुथी विद्रोहीले सन् २०१४ मा सानालाई कब्जामा लिएपछि अर्को वर्ष साउदी अरबको नेतृत्वमा हस्तक्षेप भएको थियो । ठूलो मानवीय सङ्कट निम्त्याएको द्वन्द्वमा लाखौंको ज्यान गइसकेको छ ।

संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा सन् २०२२ को अप्रिलदेखि सुरु भएको युद्धविरामले हताहतीमा उल्लेख्य कमी आएको छ । युद्धविरामको म्याद अक्टोबरमा सकिएको थियो, तर युद्ध धेरै हदसम्म रोकिएको छ ।

तेलले भरिपूर्ण क्षेत्र मारिब प्रान्तमा विगत दुई वर्षयताकै सबैभन्दा तिक्ततापूर्ण युद्ध भएको छ । मारिब शहर सरकारको अन्तिम उत्तरी किल्ला हो, जुन अहिले दक्षिणी शहर एडेनको संरक्षणमा रहेको छ । 

प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  २१:४३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार