गुजरातमाथि रोमाञ्चक जितसँगै राजस्थान शीर्ष स्थानमा कायमै
काठमाडौँ– भारतमा जारी १६ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)मा राजस्थान रोयल्सले गुजरात टाइटन्सलाई हराएको छ ।
नरेन्द्र मोदी रंगशााला, अहमदाबादमा गत साँझ भएको खेलमा राजस्थानले घरेलु टोली गुजरातलाई ३ विकेटले पराजित गरेको हो ।
गुजरातले दिएको १७८ रनको लक्ष्य राजस्थानले १९.२ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।
राजस्थानका लागि कप्तान सञ्जु सामसन र शिमरन हिटमायरले अर्धशतकीय पारी खेले ।
कप्तान सामसनले ३२ बलमा ३ चौका र ६ छक्काको सहयोगमा ६० रन बनाए । यस्तै, हिटमायरले २६ बलमा २ चौका र ५ छक्काको सहयोगमा अविजित ५६ रन जोडे ।
यी दुईले पाँचौं विकेटका ५९ रनको साझेदारी गरेका थिए ।
यसैगरी, देवदत्त पडीकलले २६, ध्रुव जुरेलले १८, रविचन्द्र आश्विनले १०, रियान परागले ५ तथा यशस्वी जैसवालले १ रन जोडेका थिए । ट्रेन्ट बोल्ट शून्य रनमा अविजित रहँदा जोस बटलर शून्य रनमा आउट भएका थिए ।
गुजरातका लागि मोहम्मद सामीले सर्वाधिक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ७ विकेट गुमाएर १७७ रन बनाएको थियो ।
गुजरातका लागि डेबिड मिलरले सर्वाधिक ४६ तथा ४५ रन बनाएका थिए ।
राजस्थानका लागि सन्दीप शर्माले २ तथा एडम जाम्पा, ट्रेन्ट बोल्ड र युजभेन्द्र चहलले समान १–१ विकेट लिए ।
राजस्थानले पाँचौ खेलमा चौथो जित हात पारेको हो । राजस्थान ८ अंकका साथ शीर्ष स्थानमा कायमै रहेको छ ।
यता, पाँचौ खेलमा दोस्रो हार व्यहोरेको गुजरात ६ अंकका साथ तेस्रो स्थानमा कायमै रहेको छ ।
यसअघि भएको पहिलो खेलमा मुम्बई इन्डियन्सले लगातार दोस्रो जित हात पारेको थियो ।
घरेलु मैदान वाङखडेमा भएको खेलमा मुम्बईले कोलकाता नाइट राइडर्सलाई ५ विकेटले पराजित गरेको हो ।
मुम्बई अंक तालिकाको आठौँ स्थानमा रहँदा पराजित हुनका बाबजुद कोलकाता पाँचौमा छ ।
भारतका विभिन्न सहरमा जारी आइपिएलमा १० टोलीको सहभागिता छ ।