छतबाट खसेर ‘गम्भीर’ घाइते भएका रविका चालक आज बारा जाने कार्यक्रम थियो
काठमाडौँ– छतबाट खसेर गम्भीर घाइते भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक शम्भु भनिने दिलबहादुर थापा आज बारा जाँदै थिए ।
लामिछानेलाई लिएर थापा आइतबार तनहुँको दमौली पुगेका थिए । त्यसपछि आएर उनी रास्वपाका महामन्त्री मुकुल ढकालका सवारी चालक कालुराम राजवंशीसँगै चितवनस्थित घरको छतमा सुतेका थिए ।
आज बिहान भरतपुरकै घरदैलो कार्यक्रमपछि थापा बारा जाने कार्यक्रम रहेकोमा उनी छतबाट खसेर गम्भीर घाइते हुन पुगेका छन् ।
भरतपुर ११ स्थित लामिछानेको घरबाट विहान ४ बजेतिर सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ मा घर भएका थापा गम्भीर घाइते भएका हुन् ।
थापाको खुट्टामा र टाउको चोट लागेको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ ।
उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
यस घटनाबारे अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता विजयराज पण्डितले बताए ।