Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुडानमा भिडन्त जारी, मृत्यु हुनेको सङ्ख्या ९७ पुग्यो

सोमबार, वैशाख ४, २०८०

खार्तुम– सुडानको राजधानी खार्तूममा सेना र अर्धसैनिक बलबीच सोमबार तेस्रो दिन पनि झडप हुँदा मृत्यु हुनेको सङ्ख्या १०० पुगेको छ ।

सन् २०२१ मा भएको ‘कू’ मा सत्ता कब्जा गरेका दुई जनरल, सुडानका सेना प्रमुख अब्देल फतह अल बुरहान र शक्तिशाली अर्धसैनिक रेपिड सपोर्ट फोर्सेज (आरएसएफ)को कमाण्ड सम्हालिरहेका उनका सहयोगी मोहम्मद हमदान डग्लोबीच हप्तौंदेखि चलेको शक्ति सङ्घर्षपछि शनिबारदेखि हिंसा सुरु भएको हो ।

खार्तुम र सुडानका अन्य शहरहरूमा हवाई आक्रमण, सडकमा ट्यांकहरू, तोपखानाको गोलाबारी र भारी गोलीबारीसहित भएको भीषण द्वन्द्वले तत्काल युद्धविरामको लागि अन्तर्राष्ट्रिय मागहरू उठाएको छ ।

‘शनिबारदेखि सुरु भएको झडपमा सर्वसाधारणको मृत्यु हुनेको सङ्ख्या बढी ९७ पुगेको छ,’ चिकित्सक सङ्घले सोमबार उल्लेख गरेको छ,’ ‘यो आँकडामा सबै हताहती समावेश गरिएको छैन किनभने लडाइँका कारण आवतजावतमा कठिनाइ भएका कारण धेरै जना अस्पताल पुग्न सकेका छैनन् ।

सुडानका चिकित्सकहरूको केन्द्रीय समिति, एक अलग लोकतन्त्र समर्थक सङ्गठनले शनिबारदेखि सुरक्षा बलहरूमा दर्जनौंको मृत्यु भएको र नागरिक र सेनासहित लगभग ९४२ जना घाइते भएको जनाएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले खार्तूमका नौवटा अस्पतालमध्ये केहीमा रगत, रक्तसञ्चार उपकरण र अन्य अत्यावश्यक सामग्रीको अभाव भएको भन्दै चेतावनी दिएको छ ।

यस हिंसाले सुडानी नागरिकहरूलाई आफ्नो घरमा आश्रय लिन बाध्य बनाएको छ साथै लामो द्वन्द्वको डरले देशलाई गहिरो अराजकतामा धकेल्न सक्छ । नागरिक शासनमा फर्कने आशामा तुषारापात भएको छ ।
 

प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  १४:४०
प्रतिक्रिया दिनुहोस्