चेन्नाईको तेस्रो जित, बेंग्लोरको तेस्रो हार
काठमाडौँ– भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा चेन्नाई सुपर किंग्सले तेस्रो जित निकालेको छ ।
रोयल च्यालेन्जर्स बेंगलोरमाथि हराएपछि चेन्नाईले तेस्रो जित निकालेको हो ।
यससँगै चेन्नाई ५ खेलमा ३ मा जित र २ मा हारसहित १० टोली सहभागी प्रतियोगिताको तेस्रो स्थानमा छ ।
यता, बेंग्लोरले भने ५ खेलमा तेस्रो हार ब्यहोरेको छ । बेंग्लोर सातौँ स्थानमा छ ।
गएराति घरेलु मैदान एम चेन्नास्वामीमा बेंग्लोर चेन्नाईसँग ८ रनले पराजित भएको हो ।
चेन्नाईले दिएको २२७ रनको लक्ष्य पछ्याएको बेंग्लोरले २० ओभरमा ८ विकेट गुमाउँदै २१८ रन बनाउन सक्यो ।
बेंग्लोरका ग्लेन म्याक्सवेल र कप्तान फाफ डू प्लेसिसले अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् ।
म्याक्सवेलले ३६ बलमा ३ चौका र ८ छक्कासहित ७६ रन बनाए । यस्तै, कप्तान डू प्लेसिस ३३ बलमा ५ चौका र ४ छक्कासहित ६२ रनमा आउट भए ।
चेन्नाईका तुषार देशपाण्डेले ३ तथा मथिसा पाथिरानाले २ विकेट लिए । यस्तै आकाश सिंह, मोइन अली र महेश थिक्सेनाले समान १-१ विकेट हात पारे ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको गरेको चेन्नाईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२६ रन बनाएको थियो ।
चेन्नाईका लागि ओपनर डेभन कन्वे र शिवम दुबेले अर्धशतकीय पारी खेले ।
कन्वेले ४५ बलमा ६ चौका र ६ छक्कासहित सर्वाधिक ८३ रनको योगदान दिए । यसैगरी, दुबे २७ बलमा २ चौका र ५ छक्कासहित ५२ रनमा आउट भए ।
यस्तै, अजिक्य राहाणे २० बलमा ३ चौका र २ छक्कासहित ३७ रन जोडेर आउट भए ।
मोइन अली १९ रनमा अविजित रहँदा अम्बाती रायुडू १४ रनमा आउट भए । रवीन्द्र जडेजा १० रनमा आउट भए ।
बेंगलोरका विजयकुमार वैश्यक, मोहम्मद सिराज, वाइन पार्नेल, वानिन्दु हसरंगा, हर्षल पटेल र ग्लेन म्याक्सवेलले समान १-१ विकेट लिए ।