तनहुँमा गठबन्धनको आज चुनावी सभा
काठमाडौं –सत्ता गठबन्धनले तनहुँ–१ मा मंगलबार संयुक्त चुनावी सभा गर्दैछ । वैशाख १० गते हुने उपनिर्वाचनलाई लक्ष्य गरेर सत्ता गठबन्धनले दमौलीमा चुनावी सभा गर्न लागेको हो ।
नेपाली कांग्रेसको ब्यास नगरकार्यसमितिले आयोजना गर्ने चुनावी सभा दिउँसो १ बजे सुरु हुने छ ।
सभालाई कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले सम्बोधन गर्ने कार्यक्रम छ ।
तनहुँ–१ बाट प्रतिनिधि सभा सदस्यमा विजयी रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो । उम्मेदवार गोविन्द भट्टराईविरुद्ध भर्खरै कांग्रेस छाडेका अर्थविद् डा. स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेपछि कांग्रेसका लागि तनहुँ–१ चुनौतीपूर्ण देखिएको छ ।
यहाँ नेकपा एमालेले नेपाल प्रहरीका पूर्व आईजीपी सर्वोन्द्र खनाललाई उठाएको छ ।