नेभिगेशन
समाज विविध

न्यून आय भएका परिवारलाई पोखरा महानगरपालिले घर बनाइदिने

पोखरा –पोखरा महानगरपालिका क्षेत्रभित्र न्यून आय भएका व्यक्तिहरूलाई लक्षित गरी न्यून लागतका एक सय वटा व्यवस्थित घर निर्माण गर्ने सम्बन्धमा त्रिपक्षीय सम्झौता भएको छ ।

न्यून आय भएका व्यक्तिहरूको आवास निर्माण तथा आय आर्जनका लागि सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराई उनीहरूको आर्थिक स्तर वृद्धि गर्ने उद्देश्यले सम्झौता भएको हो ।

सम्झौतामा महानगरपालिकाका प्रमुख धनराज आचार्य, लुमन्ति आवासको लागि सहयोग समूहको तर्फबाट कार्यकारी निर्देशक लजना मानन्धर र कामना सेवा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विनय दाहालले हस्ताक्षर गरेका छन् । सम्झौतामा पोखरा महानगरपालिका, लुमन्ति आवासको लागि सहयोग समूह र कामना सेवा विकास बैंक लिमिटेडका बीचमा महानगर क्षेत्रमा एक सय वटा नयाँ व्यवस्थित घर निर्माण गरिने जनाइएको छ ।

पोखरा महानगरपालिका क्षेत्रभित्र रहेका सुरक्षित आवासको व्यवस्था नभएका तथा न्यून आय भएका वर्गलाई लक्षित गरी त्रिपक्षीय सहकार्यमा यो योजना लागु गरिएको हो । महानगरपालिकाले निर्धारण गरेको मापदण्ड भित्र सिफारिस भई आए बमोजिम कामना सेवा विकास बैकले नयाँ घर निर्माण तथा मर्मत सुधारका लागि अधिकतम सात लाख रुपैयाँ न्यून लागत आवास कर्जा प्रवाह गर्ने छ ।

लाभग्राहीले पाउने न्यून लागत आवास कर्जाको सात लाखमध्ये लुमन्तिले ४० प्रतिशत, पोखरा महानगरपालिकाले १० प्रतिशत र ५० प्रतिशत कामना सेवा विकास बैकले लगानी गर्नेछन् । 

कर्जामा वार्षिक नौ दशमलव ९९ प्रतिशत ब्याज लाग्ने छ भने यस बाहेक सेवा शुल्क लाग्ने छैन । सम्झौताको कुल रकम सात करोड रुपैयाँ रहेको छ । प्रत्येक लाभग्राहीलाई सात लाख रुपैयाँका दरले वार्षिक नौ दशमलव ९९ प्रतिशत ब्याजदरमा सात वर्षभित्र ११ हजार छ सय १७ रुपैयाँका दरले ८४ किस्तामा तिर्ने गरी न्यून लागत आवास कर्जा उपलब्ध गराइने छ । सम्झौता अनुसार एक वर्षभित्र एक सय वटा घर बनाइने छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता