नेभिगेशन
समाचार

सुरक्षा निकायलाई शक्ति केन्द्र र राजनीतिबाट अलग राखिन्छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं –उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा निकायलाई राजनीति र शक्ति केन्द्रको पहुँचबाट मुक्त गर्ने बताएका छन् ।

सिंहदरवारमा मंगलबार पत्रकार सम्मेलन गर्दै उनले सुरक्षा निकायलाई राजनीति र शक्ति केन्द्रको पहुँचबाट अलग राखिने बताए ।

‘सुरक्षा निकायलाई दुई चिजबाट मुक्त गरिन्छ । त्यो भनेको राजनीति र शक्ति केन्द्रको पहुँच र अर्को अवाञ्चित गतिविधिबाट टाढा राख्छौं,’ उनले भने ।

उनले सुरक्षा निकाय राष्ट्रको गौरव हुनुपर्ने बताउँदै उनीहरूको मनोबलमा खेलवाड नगर्न नहुने प्रस्ट पारे । 

उनले प्रहरीले निश्चितरूपमा आफ्नो भूमिका निर्वाह गर्दै आए पनि कतिपय गुनासा र समस्याहरू सुनिने गरेको उल्लख गर्दै त्यस्ता गुनासाहरूको सम्बोधन गर्नुपर्ने बताए। 

उनले सीमा सुरक्षाका लागि नेपालमा सशस्त्र प्रहरी रहेको बताउँदै राष्ट्रियतामा खलल पुग्न नदिन सरकार गम्भीर रहेको बताए । 

'मिटरब्याज पीडितले न्याय पाउँछ'

गृहमन्त्री श्रेष्ठले मिटरब्याज पीडितलाई न्याय दिएरै छाड्ने बताए । पीडितहरूलाई न्याय दिन सरकार दृढतापूर्वक अगाडि बढिसकेको उनले बताए ।

उनले पीडितलाई न्याय दिन कानुन संशोधनका कुरा र आयोगमार्फत् यथार्थ विवरण संकलन गर्ने बताए । ‘मिटरब्याज पीडितलाई न्याय दिन हामी प्रतिबद्ध छौं । उहाँहरूको मागप्रति हामी सकारात्मक छौं । उहाँहरूले न्याय पाउनुपर्छ भनेरै विभिन्न पहलकदमी अगाडि बढाएका छौं,’ उनले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार