Nic Ad Nic Ad
Nic Ad Nic Ad
एसिसी मेन्स प्रिमियर कप क्रिकेट

मलेसियाविरुद्ध नेपालको शानदार जित, कुशलको विस्फोटक ब्याटिङ

मंगलबार, वैशाख ५, २०८०

काठमाडौं – एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरूवात गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा मंगलबार नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

२३६ रनको लक्ष्य पछ्याएको नेपालले ३६.२ ओभरमै ४ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । भीम सार्कीले सर्वाधिक ७१ रन बनाए भने कुशल मल्लले बिस्फोटक ब्याटिङ गरे । उनले ४० बलमै ५ चौका र ५ छक्काको मद्दतमा ७० रन बनाए ।  

नेपालले पहिलो ओभरमै ओपनर आशिफ शेखलाई १ रनमा गुमाएको थियो । त्यसपछि आएका कुशल भुर्तेलले ३८ रन बनाएर आउट भए । 

कप्तान रोहित कुमार पौडेल र भीम सार्कीले ब्याटिङलाई लयमा फर्काउँदै नेपाललाई जित दिलाए । पौडेलले ४२ रनको योगदान गरे भने सार्कीले अर्धसतकीय पारी खेले ।

टस जितेर ब्याटिङ रोजेको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २३५ रनको योगफल तयार पारेको थियो । मलेसियाका लागि अहमद फैजले सर्वाधिक ७६ रनको योगदान गरे । 

नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले सर्वाधिक समान तीन–तीन विकेट लिए । 

नेपाल अब दोस्रो खेल ओमानसँग वैशाख ८ मा कीर्तिपुरस्थित त्रिवि मैदानमा खेल्ने छ । नेपालको समूहमा ओमान, कतार, मलेसिया र साउदी अरेबिया छन् । समूह ‘बी’ मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् ।

समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन् । सेमिफाइनल वैशाख १६ र फाइनल वैशाख १८ गते हुनेछ । प्रतियोगिताको विजेता टिम आगामी सेप्टेम्बरमा हुने एसिया कपका लागि छनोट हुनेछ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  १६:०५
प्रतिक्रिया दिनुहोस्