Nic Ad Nic Ad
Nic Ad Nic Ad

एक सय साठी गोही नदीमा छोडियो

मंगलबार, वैशाख ५, २०८०

चितवन– चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा हुर्काइएका एक सय साठी गोही राप्ती नदीमा छोडिएको छ ।

चालु आर्थिक वर्षमा प्रजनन केन्द्रमा हुर्काइएका गोही आज राप्ती नदीमा छोडिएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार कसरा घाटबाट एक सय, खगेन्द्रमल्ली नजिकबाट २० र सौराहाघाटबाट ४० वटा गोही राप्ती नदीमा छोडिएको हो । वन्यजन्तु सप्ताहको पाँचौँ दिन आज १० वटा गोही छोडिएसँगै एक सय साठी गोही छाडिएको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनको उपस्थितिमा आज गोही छाडिएको तिवारीले बताए । अहिलेसम्म निकुञ्जको प्रजनन केन्द्रमा हु्र्काइएका एक हजार आठ सय ५२ वटा गोही नदीमा छाडिएको छ ।

तिवारीका अनुसार झण्डै पाँच वर्ष उमेरका गोहीलाई नदीमा छाडिन्छ । उहाँको भनाइमा एक दशमलव पाँच मिटर लम्बाइ भएपछि गोहीलाई नदीमा छाड्ने गरिएको छ । गत आर्थिक वर्षमा एक सय सात वटा गोही नदीमा छाडिएको थियो । सन् १९७८ मा केन्द्र स्थापना भएपछि गोहीको बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो । 

प्रजनन केन्द्रमा हुर्काएर राप्ती, नारायणी, कालीगण्डकी, सप्तकोशी, कर्णाली र बबईमा गोही छाडिँदै आएको छ ।

हालसम्म सबैभन्दा बढी राप्ती नदीमा छाडिएको छ । नेपालमा धेरै गोही पाउने नदीमा राप्ती पर्दछ । चैत वैशाख महिनामा नदी किनारमा गोहीले पारेका अण्डा सङ्कलन गरेर कसरामा रहेको प्रजनन केन्द्रमा कोरलेर बच्चा हुर्काउने गरिन्छ । हाल प्रजनन् केन्द्रमा छ सय ४९ भन्दा बढी विभिन्न उमेरका गोही रहेका छन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  १८:३५
प्रतिक्रिया दिनुहोस्