नेभिगेशन
समाचार
मन्त्रिपरिषद्को बैठक

सरकारद्वारा राष्ट्रिय परिचयपत्रबारे रवि लामिछानेले गरेको निर्णय खारेज

सरकारले निर्णयबारे आवश्यक छानविन गर्ने

काठमाडौँ– पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय परिचयपत्रबारे गरेको निर्णय सरकारले खारेज गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणाली मार्फत नागरिकको विवरण प्रमाणीकरण एवं अन्तर प्रणाली आबद्ध सम्बन्धी कार्यविधि खारेज गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

राष्ट्रिय सुरक्षाहितलाई मध्यनजर गरेर कार्यबिधि खारेज गर्ने र आवश्यक छानविन गर्ने निर्णय भएको उनले बताइन् ।

बैठकमा सहभागी एक मन्त्रीले तत्कालीन उपप्रधान एवं गृहमन्त्री लामिछानेले स्वीकृत गरेको कार्यविधि खारेज भएको बताए । उनका अनुसार ठेक्का पाउने कम्पनीको इजाजत पनि खारेज गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

बैठकले भूउपयोग सम्बन्धी पहिलो संशोधन नियमावली २०७९ स्वीकृत गरेको छ । नियमावली स्वीकृत भएसंगै कित्ताकाटमा देखिएको समस्या समाधान हुने प्रवक्ता शर्माले बताइन् । बैठकले काठमाडौं तराई फास्ट ट्रयाक अन्तर्गत ललितपुर खोकना क्षेत्रको जग्गा प्राप्तिको समस्या समाधानका लागि सहजीकरण समिति गठन गरिएको र  समिति विवादलाई सहजीकरण गर्दै छिटो काम अघि बढाउने निर्णय भएको प्रवक्ता शर्माले जानकारी दिइन् ।

प्रवक्ता शर्माले मन्त्रीपरिषद् बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणका बिषयमा कुनै निर्णय नभएको बताइन् । उनले भारत भ्रमणको मिति पनि तय नभएको जानकारी दिइन् ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार