सरकारले खुला गर्यो जग्गा कित्ताकाट, वर्गीकरण गर्न नपर्ने
काठमाडौँ– सरकारले देशभरको जग्गा कित्ताकाट खोल्ने निर्णय गरेको छ।
मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अर्थतन्त्र चलायमान बनाउन भूउपयोग नियमावली २०७९ लाई संशोधन गर्दै देशभरको जग्गा कित्ताकाट खोल्ने निर्णय गरेको हो ।
अर्थतन्त्र चलायमान हुन नसकेको गुनासो निजी क्षेत्रबाट आएपछि सरकारले जग्गा वर्गीकरणविनै कित्ताकाट गर्न दिने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
‘नियमावली नबनेको कारण घरजग्गा कारोबारमा कित्ताकाट तथा अंशबण्डा रोकिएको थियो। त्यसलाई सहज बनाउनको लागि मन्त्रिपरिषद्ले भू–उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृति गर्ने निर्णय गरेको छ’ उनले भनिन् ।
यसअघि भूउपयोग नियमावली ल्याएर वर्गीकरण गरेरमात्रै जग्गा कित्ताकाट गर्न पाउने व्यवस्था गरेको थियो । उक्त नियमावली कार्यान्वयनमा आएपछि हालसम्म ५ सय ९२ पालिकामा कित्ताकाट खुलेको थिएन ।