Nic Ad Nic Ad
Nic Ad Nic Ad

टेनिस खेलाडी बाँस्तोला पहिलोपटक आइटिएफ वरीयतामा

बुधबार, वैशाख ६, २०८०

कास्की– पोखराबाट टेनिस खेल्न सुरु गरेका पोखरेली खेलाडी अभिषेक बाँस्तोला अन्तर्राष्ट्रिय टेनिस महासङ्घ (आइटिएफ)को विश्व वरियतामा पर्न सफल भएका छन् ।

हाल अमेरिकामा व्यावसायिक टेनिस खेल्दै आएका उनी हालै आइटिएफको एक हजार सात सय ९० वरीयतामा उक्लिएका हुन् । बाँस्तोला आइटिएफ वरियता प्र्राप्त गर्ने पहिलो नेपाली खेलाडीसमेत हुन् । अमेरिकामा अध्ययनसहित आफ्नो खेल जीवनअघि बढाउँदै आएका २३ वर्षीय बास्तोलाले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् ।

पोखरामा मंगलबार कास्की जिल्ला टेनिस सङ्घले आयोजना गरेको कार्यक्रममा अभिषेकले विश्व वरियताको दुई हजारभन्दा तल पर्नु सामान्य कुरा नभएको बताए । उनले भने, ‘आठ वर्षको हुँदा पोखरामा टेनिस खेल्न सुरु गरेँ । यहाँबाट नै मेरो टेनिस यात्रा सुरु भयो । १५ वर्षको अवधिमा अहिले प्राफेसनल र्याङकिङ प्राप्त गर्दा गौरव महसुस भएको छ । टेनिसको व्यावसायिक यात्रा सुरु भएको छ ।’

दशौँ हजार खेलाडीको बीचमा समेत सो स्थानमा आउनु खेलाडीका लागि ठूलो उपलब्धि भएको उनले उल्लेख गरे । उनले यस वर्ष एक हजार हाराहारीमा आउने र अर्को वर्ष पाँच सयभित्रको वरियतामा पर्ने गरी मेहनत गर्ने बताए । 

१३ वर्षको उमेरदेखि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न सुरु गरेको अभिषेकले बताए । ‘अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको झण्डा लिएर खेल्न पाउँदा गौरवको महसुस हुने गरेको छ । हालसम्म विभिन्न १४ राष्ट्रमा प्रतियोगिता खेलिसकेकाले देशलाई चिनाउने गरेको छु,’ बाँस्तोलाले भने ।

नेपाल टेनिस सङ्घका केन्द्रीय उपाध्यक्ष विनोद कायस्थले अभिषेकले हासिल गरेको उपलब्धिले सम्पूर्ण नेपालीलाई गौरवान्वित बनाएको बताए । 

प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  ०६:३२
प्रतिक्रिया दिनुहोस्