तराईमा हावा–हुरी, उपत्यकामा तुवाँलो
काठमाडौँ– आज दिउँसो देशका सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत अन्य पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थान तथा बागमती र कोसी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का-क्षणिक वर्षाको सम्भावना रहेको छ ।
यसैगरी, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा हावा–हुरीको सम्भावना रहेको छ । साथै काठमाडौँ उपत्यकालगायत देशका केही भू–भागमा तुवाँलोको सम्भावना रहेको छ ।
यस्तै, रातिको मौसम पनि प्रायः उस्तै रहने महाशाखाको अनुमान छ ।
‘राति देशका सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत अन्य पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भागमा मौसम आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ,’ महाशाखाले आज बिहान जारी गरेको सूचनामा भनिएको छ, ‘गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा तथा बागमती र कोशी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन-चट्याङसहित हल्का-क्षणिक वर्षाको सम्भावना रहेको छ ।’