मुम्बईको लगातार तेस्रो जित, हैदराबादको तेस्रो हार
काठमाडौँ– भारतमा जारी १६ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा सर्वाधिक ५ पटकको विजेता मुम्बई इन्डियन्सले लगातार तेस्रो जित निकालेको छ ।
गएराति सनराइजर्स घरेलु टोली हैदराबादलाई १४ रनले पराजित गर्दै मुम्बईले लगातार तेस्रो जित निकालेको हो ।
यस जितसँगै मुम्बई तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । मुम्बईले जारी सिजनमा ५ खेलेको छ । जसमा ३ खेलमा जित र २ मा हार ब्यहोर्दै ६ अंक जोडेको छ । विजयी भएको छ । मुम्बईको यस सिजन यो लगातार तेस्रो जित हो । हैदराबादको लागि भने यो २ जित पछिको हार हो । ३ खेल हारेको हैदराबादमात्र ४ अंक जोडेर तालिकाको नवौँ स्थानमा छ ।
गएराति राजीवगान्धी क्रिकेट रंगशालामा घरेलु मैदानमा मुम्बईले दिएको १९३ रनको विजय लक्ष्य पछ्याएको हैदराबाद १९.५ ओभरमा १७८ रनमै अलआउट भयो ।
हैदराबादका लागि मायांक अग्रवालले ४१ बलमा सबैभन्दा धेरै ४८ रन बनाए । यस्तै विकेटकिपर ब्याटर हेनरिच क्लासेनले १६ बलमा ३६ रन जोडे पनि यो आफ्नो टोलीको जितका लागि पर्याप्त भएन ।
मुम्बईका लागि राइली मेरिडिथ, जेसन बेहरेनडोर्फ र पियुष चाहलाले २–२ विकेट लिए ।
यस्तै, क्यामरुन ग्रिनले १ विकेट हात पारे । यसैगरी, अर्जुन तेन्दुलकरले अन्तिम ओभरमा १ विकेट लिएपछि मुम्बईले १४ रनको जित हासिल गरेको हो । उनले भुनवेश्वर कुमारलाई आउट गरेका थिए
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९२ रन बनाएको थियो ।
मुम्बईका लागि क्यामरुन ग्रिन ४० बलमा ६४ रन बनाउँदै अविजित रहे । अलराउण्ड प्रदर्शन गरेका उनी प्लेयर अफ दी म्याचसमेत चुनिए ।
हैदराबादका लागि मार्को यानसेनले सर्वाधिक २ विकेट लिए ।