अन्तरजातीय विवाह गर्ने जोडीलाई एक लाख
सुर्खेत – रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले अन्तरजातीय विवाह गर्ने जोडीलाई एक लाख रुपैयाँ दिने भएको छ ।
चालू आर्थिक वर्ष २०७९/०८० देखि अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रोत्साहनस्वरूप एक लाख रुपैयाँ दिने कार्यक्रम नगरपालिकाले बनाएको छ । यसका लागि नगरपालिकाले यो वर्ष पाँच लाख रुपैयाँ विनियोजन गरेको नगर प्रमुख पुष्प वादीले जानकारी दिए ।
यो आर्थिक वर्ष देखि विवाह गर्ने अन्तरजातीय जोडीले अबदेखि प्रोत्साहन स्वरुप १ लाख रुपैयाँ पाउने उनले बताए । यस वर्ष अन्तरजातिय विवाह गरेको एक जोडीले प्रोत्साहन रकमका लागि कागजात पेश गरेको छ । वडा नम्बर ३ का सरोज बटाला र ७ की कमला परियारको जोडीले एक लाख रुपैयाँ पाउँदैछ ।
उक्त जोडीलाई प्रोत्साहन रकम प्रदान गर्ने कार्यपालिकाबाट निर्णय भइसकेको नगर प्रमुख वादीले बताए । उनका अनुसार आर्थिक समृद्धि र सामाजिक रूपान्तरण अभियान अन्तर्गत यो कार्यक्रम बनाइएको हो । यसबाट सामाजिक सदभाव कायम हुने र जातीय छुवाछूत तथा विभेदलाई न्यूनीकरण गर्ने उद्देश्य राखिएको उनले बताए ।
समाज परिवर्तनका लागि योगदान गर्ने जोडीलाई प्रोत्साहन होस र उनीहरूलाई जीविकोपार्जनका लागि कुनै व्यवसाय सञ्चालन गर्न सहज होस् भनेर आर्थिक प्रोत्साहनको कार्यक्रम बनाएको उनको भनाइ छ ।