रवि र बालेन प्रवृत्ति लोकतन्त्ररूपी रुख मार्ने ऐँजेरू हुन्
पछिल्ला राजनीतिक घटनाले मुलुक प्रतिगमनको खतरनाक दलदलमा फस्दै गएको संकेत दिएका छन् ।
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि जुन राजनीतिक संस्कृतिको अपेक्षा गरिएको थियो, त्यो विल्कुलै हुन सकेन । गणतन्त्रपछिको दोस्रो आम चुनावपछि त मुलुक असभ्य, बर्बर र जंगली राजतर्फ तीव्र गतिमा अघि बढिरहेको छ ।
असहिष्णु, हिंस्रक प्रवृत्ति र भद्दा एवं अश्लील हर्कतलाई राजनीति ठान्न थालिएको छ । त्यसलाई प्रोत्साहन गर्ने अर्धशिक्षित पार्टी कार्यकर्ता र सामाजिक सञ्जाल प्रयोगकर्ताले माओवादी द्वन्द्वकालमा थिलथिलो भएर त्यसबाट तंग्रिनसकेको मुलुललाई पुनः हिंसात्मक द्वन्द्वमा झोक्ने त्रास बढाइदिएका छन् ।
मुलतः कांग्रेस कम्युनिस्टको व्यवहार र चरित्रले अब ती दलबाट परिवर्तन सम्भव छैन भन्ने सन्देश गएका कारण विकल्प खोज्न भौतारिँदा जनता गलत गन्तव्यतर्फ अग्रसर बन्दै जाँदैछन् ।
मूलधारका राजनैतिक पार्टीका नेताहरूको गलत चरित्र, असैद्धान्तिक व्यवहार, राष्ट्रविरोधी हर्कत तथा जनताका समस्याप्रतिको असम्वेदनशील रवैयाले उत्पन्न आक्रोशलाई भड्काएर गलत तत्वले फाइदा लिने काम भइरहेको छ । दलका नेताप्रति जनतामा पैदा भएको विकृत धारणाले कस्तो परिणाम ल्याउँछ भन्ने अन्योल झन् बढ्दै जाँदैछ । सत्ता स्वार्थ, अनुचित आर्थिक लाभ र परिवारवादको भासमा चुर्लुम्म डुबेका पार्टीहरूलाई त्यसप्रति खासै मतलब भएजस्तो देखिँदैन । त्यसले गर्दा युवा पुस्ता थप भ्रष्ट हुन पुगेको छ । त्यसलाई भड्काउन युट्युब, फेसबुकलगायतका सामाजिक सञ्जालमा प्रस्तुत हुने स्तरहीन सामग्रीले भूमिका खेलेको छ ।
अघिल्लो वर्ष भएको स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारको नाममा अघि सारिएका बालेन साह र आमनिर्वाचनमा घण्टी पार्टीको आकर्षणालाई हल्का रूपले लिने भूल गर्नु मुर्खता हुनेछ । दलहरूको निहित स्वार्थपूर्तिका लागि हुने अस्वस्थ र अमर्यादित होडबाजीमा रवि लामिछानेहरूलाई प्रोत्साहन गर्ने काम भइरहेको छ । त्यो घातक दुष्कर्मको सुरुवात हो । त्यसले राष्ट्रलाई थप क्षति पुर्याउने र जनतालाई गम्भीर समस्यामा फसाउने सम्भावना छ ।
मूलधारका पार्टीहरू सिद्धान्तहीन बाटोमा हिडेपछि कुनै पनि राजनीतिक सिद्धान्त नमान्ने घोषणाका साथ अघि बढेको जमातले जनतालाई भ्रमित गरेर फाइदा लिन खोज्नु स्वाभाविक हो । त्यस्तो तत्वले उत्तेजना, आक्रोश र हिंसालाई नै मलजल गर्छ । गत स्थानीय चुनाव र केही महिनाअघि सम्पन्न आम चुनावले जनतामा उकुसमुकुस छ, असन्तुष्टि छ र परिवर्तनको प्रबल चाहना छ भन्ने स्पष्ट देखाएको छ । तर, त्यो उकुसमुकुस, असन्तुष्टिको कारण खोज्नेतर्फ जिम्मेवार भनिएका राजनीतिक पार्टी उदासिन देखिएका छन् ।
दलहरूको निहित स्वार्थपूर्तिका लागि हुने अस्वस्थ र अमर्यादित होडबाजीमा रवि लामिछानेहरूलाई प्रोत्साहन गर्ने काम भइरहेको छ । त्यो घातक दुष्कर्मको सुरुवात हो ।
मुलतः कांग्रेस कम्युनिस्टको व्यवहार र चरित्रले अब ती दलबाट परिवर्तन सम्भव छैन भन्ने सन्देश गएका कारण विकल्प खोज्न भौतारिँदा जनता गलत गन्तव्यतर्फ अग्रसर बन्दै जाँदैछन् । समय छँदै तिनलाई सचेत गराउने, वास्तविकता बोध गराउने र धैर्यपूर्वक सत्य निष्ठातर्फ अघि बढ्ने प्रेरणा दिन आवश्यक छ । त्यसको दायित्व अब राजनीतिक पार्टीहरूकाे युवा नेतृत्वले सम्हाल्नुपर्ने अवस्था आएको छ ।
त्यो पवित्र कर्मतर्फ राजनीतिक शिक्षादीक्षा प्राप्त पुस्ता उदासिन हुँदा रवि लामिछाने, बालेन साहजस्ता गलत तत्वले प्रश्रय पाउँछन् । र, ती तत्वप्रतिको अतिशय आकर्षणले समाजलाई झन् गतल बाटोतर्फ बढाइरहेको छ । भ्रष्टाचार, सामाजिक विकृति, द्वन्द्व भड्काउने दुष्कर्म, कमिशनखोरी र परिवारवादको सन्दर्भमा दोहोरो मापदण्ड स्थापित गर्न खोजिँदैछ । यसले विद्रोहलाई गलत ढंगले परिभाषित गर्ने र लोकतन्त्रको भाष्यलाई विकृत बनाउने सम्भावना छ । कांग्रेस, एमाले र माओवादीले हरदम संविधानको उल्लंघन गर्ने, कानुनको धज्जी उडाउने, विधि, परम्परा तोड्ने काम गरे । त्यसो गरेवापत् तिनले जनताबाट गाली खानुपर्यो, तिरस्कृत हुनुपर्यो र कतिपय अवस्थामा चुनावको बेला नराम्ररी दण्डित पनि हुनुपर्यो । जनताले कांग्रेस–एमालेको विकल्प खोज्न अघिकतम प्रयास गरे । तर, भरपर्दाे विकल्प मिल्दै मिलेन ।
२०६२/६३ को आन्दोलनपछि माओवादी संसदीय राजनीतिमा फर्कियो । जनताले उसलाई अबको उपयुक्त विकल्प भन्ने ठाने र संविधानसभाको पहिलो चुनावमा अत्यधिक मतदान गरे । तर, माओवादीले आफ्नो व्यवहार र क्रियाकलापले जनताको हित चिताएको सन्देश दिन सकेन । जनताले फेरि बाध्य भएर कांग्रेस–एमालेलाई नै रोज्नुपर्ने अवस्था आयो ।
नयाँ संविधान बनेपछि भएको पहिलाे चुनावमा एमाले–माओवादी गठबन्धन भरपर्दो विकल्प हुनसक्ने ठानेर जनताले त्यसलाई रोजे । तर, आपसी द्वन्द्व, झगडा र भ्रष्टाचारको दलदलमा मुलुकलाई धकेल्ने काममा त्यो शक्ति लागेपछि वाक्क–दिक्क भएका नेपाली जनताले अराजनीतिक, भद्दा र अश्लील चरित्रको रवि लामिछाने प्रवृत्तिलाई रोज्ने भूल गरेका छन् । त्यो महाभूल हो । तर जनताको त्यो भूलका लागि मूल रुपमा कांग्रेस–एमाले जवाफदेही छन् । कांग्रेस–एमाले सुशासन, पारदर्शिता र विधिको शासनको पक्षमा खडा भएको भए जनता अन्योलमा पर्ने र अनावश्यक रूपले भड्कनुपर्ने अवस्था आउने थिएन ।
जनता आफूप्रति रुष्ट छन् । आफ्नो अवस्था दिनानुदिन खस्कँदो छ भन्ने कुराको आभाषसम्म छैन अहिले कांग्रेस–एमालेमा । यो शुभ संकेत होइन । प्रजातान्त्रिक समाजवादी बाटोमा हिँडेका कांग्रेस र साम्यवादी आदर्श बोकेका कम्युनिस्टहरूले आफ्ना सिद्धान्त, आदर्श र लक्ष्य बिर्सिँदा अनेक प्रकारका ऐँजेरू पलाएर ती राजनीतिक रुखलाई नै सुकाउने अवस्था आएको छ । रुख सुकेपछि ऐँजेरू पनि धेरैसम्म टिक्न सक्दैन । आजको नेपाली राजनीति त्यही अवस्थामा छ ।
जनतामा यति गहिरो निराशा उत्पन्न हुनुको कारण कांग्रेस र एमाले नै हुन् । तर जनताले सही मार्गनिर्देशन विना उपर्युक्त विकल्प छान्न सक्दैनन् भन्ने कुराको पुष्टि भने फेरि पनि भएको छ । जनताले कमजोर र बूढा भएका कांग्रेस–एमालेरूपी मूल वृक्षको विकल्पमा ऐँजेरूलाई छान्ने भूल गरेका छन् । र, तिनका गलत क्रियाकलापको रक्षामा ढाल बनेर खडा भएका छन् । यति हुँदासम्म यो दुर्भाग्यको कारण बनेका कांग्रेस–एमालेको चेत किन खुल्न सकेको छैन, त्योचाँहि ताजुव मान्नुपर्ने कुरा छ ।
लोकतन्त्रमा संविधान प्रदत्त अधिकार उपयोग गरी दल खोल्ने, चुनावमा खडा हुने, चुनाव जितेर सरकार बनाउने हक हरकोहीलाई छ । तर राजनीतिमा आउनेको चरित्र, व्यवहार, क्रियाकलाप स्वस्छ र पारदर्शी हुनुपर्दछ । यो स्थापित मान्यता पनि हो । कुनै अमुक व्यक्ति र समूहलाई संविधानको उल्लंघन गर्ने छुट हुने सामाजिक अपराध गर्दा पनि वाहवाही पाउने, आर्थिक अपराध गर्दा हिम्मतवाल ठहरिने र अर्को कुनै मन नपरेको दललाई मात्र गाली गर्ने प्रवृत्ति बढ्दै गयो भने त्यसपछि आउने संकटले हामीलाई कहाँ पुर्याउँछ ? कल्पना गरौँ त ।
दोहोरो नागरिकता राख्ने, एकैसाथ दुईवटा पासपोर्ट बोक्ने, राज्यशक्ति, सरकार र दलका नेतालाई अश्लील र भद्दा गाली गर्ने, धम्क्याएर पैसा उठाउने कामलाई आजकल केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले बहादुरी ठान्ने गरेका छन् । नारी अस्मितामाथिको खेलवाडलाई ‘सक्नेले गर्ने काम’ भन्न थालेका छन् । यसले के सन्देश दिन्छ ? संविधान, प्रचलित ऐन कानुनलाई मिचेर गरिने कुनै पनि दुष्कर्मलाई आदर्श ठान्न थालियो भने हाम्रो अस्तित्व रहन्छ र ? यतातिर गम्भीरतापूर्वक सोच्ने बेला भएको छ ।
आफूलाई कानुनभन्दा माथि ठान्ने, सामाजिक अपराधमा संलग्नहरूको जमात खडा गरेर हिरो पल्टिन खोज्ने रवि लामिछाने र मानवीय सम्वेदना नभएको, जनतालाई उठिबास लगाउने र वैधानिक रूपले सर्वसाधारणले आर्जन गरेको सम्पत्ति राज्यद्वारा बल प्रयोग गरी नष्ट गर्ने बालेन प्रवृत्तिले पम्पिने मौका पाउनुमा मूलधारको राजनीतिमा रहेका दलहरू जिम्मेवार छन् । तर त्यो जिम्मेवारीबोध भने तिनलाई अझैँ भएको छैन । तिनले लोकतन्त्रको नाम दिएर संस्थाहरुलाई पारिवारिक क्लब बनाउने काम गरिरहेको छन् ।
दोहोरो नागरिकता राख्ने, एकैसाथ दुईवटा पासपोर्ट बोक्ने, राज्यशक्ति, सरकार र दलका नेतालाई अश्लिल र भद्दा गाली गर्ने, धम्क्याएर पैसा उठाउने कामलाई आजकल केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले बहादुरी ठान्ने गरेका छन् । नारी अस्मितामाथिको खेलवाडलाई ‘सक्नेले गर्ने काम’ भन्न थालेका छन् ।
यस्तो अवस्थामा जनतामा निराशा पैदा हुनु, राजनीतिप्रति नै वितृष्णा जाग्नु र त्यसको विकल्प खोज्नु स्वाभाविक हो । तर, तिनले छानेको विकल्प झन् बत्तर भयो । त्यसले त न लोकतन्त्रको सम्मान गर्न सक्यो न जनताको आत्मसम्मानको रक्षामा लाग्न खोज्यो न त प्रचलिन ऐन कानुनको परिपालना नै गर्यो । त्यसकारण, अब नेपाली जनतामा राजनीतिक चेतना पुन:जागृत गर्न मूलधारका युवा नेताहरू अग्रसर हुनु आवश्यक भएको छ । बारम्बार एउटै मान्छेले अवसर लिने र त्यो अवसरलाई जनता र देशको हितमा काम गर्न सदुपयोग नगर्ने पुस्ताप्रतिको वितृष्णाले राजनीति भड्खालोमा जान लागेको छ । जब शासक जनताका समस्याप्रति बेखबर हुनछन्, जनताप्रति उदाशिन र देशहीतप्रति लापरवाह हुन्छन् तब सबभन्दा ठूलो संकटले घेर्छ ।
अहिले नेपाललाई डरलाग्दो आर्थिक संकटले घेरेको छ । त्यसलाई मिलेर हटाउनुपर्ने बेलामा राजनतिक द्वन्द्व चर्कँदै गएको छ । राजनीतिक द्वन्द्वमा फसेपछि सम्पूर्ण रूपले संकटबाट घेरिने अवस्था आउँछ । त्यसको आभाष नेतृत्वलाई नहुनु अझ ठूलो दुर्भाग्य हो ।
अहिले नेपालको सत्तापक्ष र प्रतिपक्ष कसैलाई पनि हाम्रो यथार्थ स्थितिको ज्ञान भएको जस्तो देखिँदैन । तिनीहरू आफ्नै स्वार्थको डम्फु बजाउन मस्त छन् । अब राजनीतिक पुर्नजागरणमार्फत पार्टीहरूले आफ्नो गुमेको साख फर्काउन प्रत्यत्न गर्नुपर्छ । त्यसका लागि पार्टीभित्र व्याप्त दास प्रवृत्ति हटाउनुपर्छ । अहिलेको मूल समस्या हो यो । नेताले आफ्नो पोजिसन बलियो बनाउन तस्कर, कालाबजारी, भ्रष्टाचारीलाई प्रश्रय दिने, अनि कार्यकर्ताले अवसरका लागि नेतृत्वका तमाम गलत हर्कतलाई शिरोधार्य गर्ने प्रवृत्ति हटाउनैपर्छ । त्यसका लागि युवा पुस्ता निर्भिक रूपले मैदानमा खडा हुनुपर्छ ।
युवा युवाजस्तो बन्ने हो भने देश बन्छ । देश बन्यो भने सबै समस्या किनारा लाग्न सक्छन् । त्यसमा राजनीतिक दल बाधक बन्ने परम्परा छ । त्यो परम्परा तोड्नुपर्छ । विदेश पलायन हुने युवालाई यहीँ अवसर उपलब्ध गराउने प्रयास किन हुँदैन । किन पर्याप्त रोजगारीको अवसर उपलब्ध गराउने कोसिस गर्दैनन् शासकहरू ? जवाफ स्पष्ट छ, राजनीतिक स्वार्थमा आँखामा पट्टी बाँधेजस्ता भएका हाम्रा नेताहरू ठिक–बेठिक पनि छुट्याउन नसक्ने भएका छन् । त्यसलाई नै आफ्नो उत्थानको आधार बनाएर आएकाहरूले त्यहीँ बाटो हिड्ने, झन् तीव्र गतिमा अघि बढ्ने गर्दा अवस्था झन् बिग्रेको छ ।
त्यसरी लथालिङ्ग भएको, विग्रेको अवस्थालाई सुधार्ने सोच, चिन्तन, योजना र कार्यक्रम भएको पुस्ता राजनीतिमा जबरजस्त प्रवेश गर्नुपर्छ र नेतृत्वमा स्थापित हुनुपर्छ । तबमात्र कुनै व्यापार र युट्युबलाई जताततै आदर्श मान्नुपर्ने अवस्थाको अन्त्य हुन्छ र देशमा शान्ति समृद्धि र सुशासन कामय हुनसक्छ ।