चितवनमा औद्योगिक प्रदर्शनी हुने
चितवन –उद्यमशीलता विकास र औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग गर्ने उद्देश्यले सातौं चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी २०८० हुने भएको छ । वैशाख २२ गतेदेखि चितवन प्रदर्शनी केन्द्र भरतपुरमा हुन लागेको हो ।
चितवनका उद्योगीको छाता संस्थाको रूपमा रहेको चितवन उद्योग संघको आयोजना, संघको केन्द्रीय छाता संस्था नेपाल उद्योग परिसंघको प्रवद्र्धन सहयोग, मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युट्रेक्स ट्रेड फेयर एन्ड इभेन्टको व्यवस्थापकीय साझेदारीमा वैशाख २२, २३ र २४ गते आयोजना हुने छ ।
परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको बेलामा उद्योगी व्यवसायीको मनोबल बढाउनुुपर्ने खाँचो रहेको बताए ।
प्रदर्शनी आयोजक चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले प्रदर्शनी नेपाली उद्यमीलाई नयाँ प्रविधिबारे जानकारी गराउँदै युवालाई उद्यमशीलतामा प्रोत्साहन गर्ने, नयाँ उद्यमी जन्माउन सहयोग गर्ने उपयुक्त माध्यम बन्ने विश्वास व्यक्त गरे ।
प्रदर्शनीमा निर्माण, कृषि, अटोमोबाइल, फर्निचर, इन्जिनियरिङ, मेटल, फर्मास्युटिकल्स, टेक्सटाइल, प्रिन्टिङ, प्याकेजिङ, प्लास्टिक, पर्यटन, फुड एन्ड बेभरेजेज तथा अन्य सेवामूलक उद्योगको उत्पादन र सेवाका प्रदर्शनी हुनेछ ।
उनले जानकारी गराए। यी उद्योगलाई उपयोगी हुने आधुनिक मेसिन, यन्त्र उपकरण र प्रविधिको प्रदर्शनीसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी दुई सयभन्दा बढी स्टल रहनेछन् ।