Nic Ad Nic Ad
Nic Ad Nic Ad

चुम उपत्यका अहिंसात्मक क्षेत्र घोषणा 

बुधबार, वैशाख ६, २०८०

गोरखा– उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकामा आजदेखि ‘चुम शताब्दी श्याग्या महोत्सव २०८०’ सुरु भएको छ । ‘अहिंसा अभियान, चुमबासीको पहिचान’ भन्ने नाराका साथ प्रकृति र संस्कृतिको संरक्षणका लागि महोत्सवको सुरु भएको चुम शताब्दी श्याग्या महोत्सव २०८० मूल समारोह समितिका अध्यक्ष तथा चुमनुव्री गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिए ।

चुमनुब्री गाउँपालिका–७ छेकम्पारस्थित राजेन गुम्बामा सुरु भएको महोत्सवको एक कार्यक्रमबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज उद्घाटन गरे ।   चुम क्षेत्रको चिनारी, निरन्तरता, प्रचारप्रसार तथा जैविक विविधता संरक्षणमा योगदान पुर्याउने उद्देश्यका साथ आयोजना भएको महोत्सव तीन दिनसम्म सञ्चालन हुने अध्यक्ष लामाले जानकारी दिए ।

विसं १९७७ को बुद्धजयन्तीका अवसरमा अवतारी लामा सेराप दोर्जेले आफ्नो तपोभूमि चुम उपत्यकाका बासिन्दालाई अहिंसात्मक सिद्धान्तको पालना गर्ने गरी सामुहिक प्रतिबद्धता गराएको र त्यस समयदेखि नै चुमबासीले चुम उपत्यकालाई अहिंसात्मक क्षेत्र घोषणा गरेका थिए । अहिंसा क्षेत्र भएकाले त्यहाँ कुनै प्रकारको काटमार हुँदैन । महोत्सवले चुमबासीको सामाजिक सांस्कृतिक एकतालाई थप मजबुत बनाउनाका साथै प्राकृतिक तथा संस्कृति संरक्षणमा सहयोग पुर्याउने र सामुहिक प्रतिबद्धतालाई अझ बलियो बनाउने विश्वास व्यक्त अध्यक्ष लामाको छ ।

महोत्सवमा शान्तिदीप प्रज्वलन र चुम उपत्यका स्थानीय समुदायद्वारा हस्ताक्षर गरी अहिंसा क्षेत्रलाई निरन्तरताका लागि प्रतिबद्धता जनाउने कार्यक्रम रहेको अध्यक्ष लामाले जानकारी दिए । वैशाख ७ गते दोस्रो दिन शान्तिको पदयात्रा, धर्मगुरुबाट क्षमापूजा, बौद्धका प्रवचन र सांस्कृतिक कार्यक्रम हुने उनको भनाइ छ ।

महोत्सवकै अवसरमा सो क्षेत्रमा वृक्षारोपण गर्ने, वैशाख ८ गते प्रकृति र संस्कृति संरक्षण गरी प्रमुख लब्राङ लामाबाट ऐतिहासिक नाराक छ्याम् लाखे नाच प्रदर्शनीसहित स्थानीय र परम्परागत खेलकुद कार्यक्रम सञ्चालन हुने जनाइएको छ ।  

महोत्सवको अन्तिम दिन वैशाख ९ गते परम्परागत घोडेजात्रा, स्थानीय संस्कृति कार्यक्रमहरुको प्रदर्शनी गरी चुम श्याग्या शताब्दी महोत्सवको समापन गरिने उनको भनाइ छ ।

मेलामा पालिकाभन्दा बाहिरबाट एक हजार बढी महोत्सव अवलोकनका लागि चुम उपत्यका पुग्ने आयोजकले अपेक्षा गरेको छ । पर्यटक आउजाउ गरिरहने क्षेत्र भएकाले महोत्सवका हेर्न आउनेका लागि खान र बस्न होटलको राम्रो सुविधा रहेको आयोजकले जनाएको छ । होटलमा बास नपुगे खानपान र बासस्थानका लागि होमस्टेको राम्रो व्यवस्था रहेको उनले बताए ।

महोत्सव सम्पन्न गर्न लागि करिब रु एक करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको छ । अहिलेसम्म करिब रु ४५ लाख सङ्कलन गरिएको मूल समारोह समितिका अध्यक्ष लामाले जानकारी दिए । चुम उपत्यकामा हरेक वर्ष करिब एक हजार पाँच सयभन्दा बढी विदेशी पर्यटक पुग्छन् । नेपाली पर्यटक पनि चुम उपत्यका पुग्ने क्रम पछिल्लो समय बढ्दै गएको उनले बताए ।

प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  १४:०८
प्रतिक्रिया दिनुहोस्